Election Commission of Nepal प्रतिनिधि सभा निर्वाचन, २०८२: २५ दिन | १० घण्टा | ४७ मिनेट | ०० सेकेन्ड

सल्यानमा निर्वाचन आचारसंहिता उलंघनका २८ उजुरी दर्ता

User Image मेयरसाप डेस्क | २०८२ फागुन १५ गते १९:३१
Image of https://mayorsap.com/storage/photos/shares/salyan.jpeg

सुर्खेत । सल्यानमा निर्वाचन आचारसंहिता उलंघन सम्बन्धि २८ उजुरी दर्ता भएका छन् ।

जिल्ला आचारसंहिता अनुगमन समितिमा २५ वटा मौखिक र तीन लिखित उजुरी परेको अनुगमन अधिकृत तथा सहायक प्रमुख जिल्ला अधिकारी हरिश्चन्द्र शर्माले जानकारी दिए ।

‘लिखित उजुरी दर्ता गर्ने प्रक्रिया अलि लामो भएकोले मौखिक उजुरी पनि समितिले लिएको छ’ उनले भने, ‘राजनितिक दलका कार्यकर्ता, अभियान्ता र सर्वसधारणहरुबाट २८ उजुरी समितिमा दर्ता भएका छन् ।’

स्थानीय तहका जनप्रतिनिधि तथा शिक्षकहरु चुनाव प्रचारमा लागेको, सामाजिक सञ्जालमा प्रचार सामग्री पोस्ट गरिएको, पोस्टर टाँसेर निर्वाचन आचार संहिता उलंघन गरेको बिषयहरुमा उजुरी परेको अनुगमन अधिकृत शर्माले बताए ।

‘नयाँ योजनाको शिलान्यास गरिएको र स्थानीय सरकारका पदाधिकारीहरूले सरकारी साधन–स्रोत प्रयोग गरी चुनाव प्रचारमा गएको बिषयमा उजुरी परेको छ’ उनले भने ।

निर्वाचन आचारसंहिता लागू भइसकेपछि सरकारी स्रोत, साधन तथा पदको दुरुपयोग गर्न नहुने बिषय आचार संहितामा भए पनि त्यसको पालना नभएको बिषयहरु आए पछि अनुगमनमा कडाई गरिएको छ ।

निर्वाचन आचार संहिता विपरितका गतिविधिले निर्वाचनको निष्पक्षता र पारदर्शितामाथि प्रश्न उठाउने भएकाले अनुगमन कार्यलाई थप प्रभावकारी बनाइएको अनुगमन अधिकृत शर्माले बताए ।

समितिले प्राप्त उजुरी छानबिन गरी कार्वाही प्रक्रिया अघि बढाइएको उनले बताए ।


Facebook Comments