तीनपाटनमा सुत्केरी स्याहार्ने कर्मचारीको कसले खायो भत्ता, स्वास्थ्य सामग्री खरिदमै प्रश्न ! कमसल औषधि भित्र्याउने को ?
स्थानीय सरकार
रामचन्द्र मिश्र
|
२०८३ असोज ०१ गते १२:३०
सिन्धुली । तीनपाटन गाउँपालिकाको स्वास्थ्य क्षेत्र अस्तव्यस्त बनाएकोमा जनप्रतिनिधि र कर्मचारीमाथि प्रश्नैप्रश्न उठेका छन् । स्वास्थ्य सामग्री खरिददेखि कर्मचारी सरुवासम्मको अनियमितताको विषयमा स्वास्थ्यकर्मीहरूले नै गाउँपालिकासँग जवाफ मागेका छन् । सुत्केरी स्याहार्ने स्वास्थ्यकर्मीले पाउनुपर्ने भत्ता तीन वर्षदेखि नपाएको दाबी छ । औषधि खरिदमा समेत प्रश्न उठाइएको छ— नाम नखुलाउने शर्तमा ज्वरो निको नहुने औषधीहरु ल्याएर पालिकाबाट बाँडिएको दाबी तीनपाटन गाउँपालिकाकै स्वास्थ्यकर्मीले गरेका छन् ।
पालिकाले टेण्डरमार्फत औषधी ल्याउँछ । ल्याएका औषधी जाँच गरिन्छ । र शाखाहरुमा पठाइन्छ । तर पालिकाले कमसल औषधी भित्र्याएर किन शाखाहरुमा बाँडिरहेको छ भन्ने प्रश्न उठेको छ । औषधी जाँच गर्ने टिमले किन खराब औषधि ल्याउने कम्पनीलाई कार्बाही गर्न सकेन भन्ने प्रश्न पनि उठेको छ । बाहिर औषधीको म्याद ठिक देखिन्छ । तर भित्रको झोल खन्याएर हेर्दा बिग्रिसकेको छ । यो हेर्दा पालिकाका जनप्रतिनिधि र कर्मचारीहरुले नागरिकको स्वास्थमा कति खेलबाड गरिरहेका छन् भन्ने प्रष्ट हुन्छ । आन्दोलनरत स्वास्थ्यका कर्मचारीहरुले औषधी किन्दा नै जनप्रतिनिधि र केही कर्मचारीहरुले मिलेमतोमा कमिसन लिएर कमसल औषधि पालिका भित्र्याएको आशंका गरेका छन् ।

यो विषयमा हामीले तीनपाटन गाउँपालिकाका अध्यक्ष कर्णबहादुर थापा मगरलाई सम्पर्क गरी जवाफ माग्ने प्रयास गरेका थियौं । तर मेयरसाप डटकमका अघिल्ला समाचारबाट नै त्रसिद पालिका अध्यक्षले प्रश्न नै स्पष्ट नसुनी कार्यापालिकाको निर्णयपछि मात्रै बोल्ने भन्दै फोन राख्न हतार गरे ।
स्वास्थ्यकर्मीहरूले गाउँपालिका अध्यक्ष कर्णबहादुर थापामगरलाई भेटेर १४ बुँदे ज्ञापनपत्र बुझाएका छन् । भेटघाटको क्रममा स्वास्थ्यकर्मीहरुले पालिका अध्यक्षले हतोत्साहित हुने गरी कुराकानी गरेको दुखेसो पनि हामीसँग गरेका छन् । तर पनि स्वास्थ्यकर्मीहरूले १४ बुँदे मागसहित गाउँपालिका अध्यक्षलाई ज्ञापनपत्र बुझाएर सात दिनभित्र निकास दिन माग गरेका छन् । स्वास्थ्य सामग्री खरिद र कार्यक्रम खर्च पारदर्शी बनाउनुपर्ने, औषधि तथा उपकरण नियमित उपलब्ध गराउनुपर्ने, स्वास्थ्य संस्थामा कर्मचारी व्यवस्थापन गर्नुपर्ने र नियमअनुसार भत्ता तथा सेवा सुविधा दिनुपर्ने उनीहरूको प्रमुख माग छ ।




तर यो विवाद यतिमै रोकिएको छैन । स्वास्थ्यकर्मीहरूको सबैभन्दा गम्भीर आरोप कर्मचारी सरुवासँग जोडिएको छ । स्वास्थ्य क्षेत्रमा समस्या र सेवा सुविधाका विषयमा प्रश्न उठाउँदा स्वास्थ्य शाखा प्रमुखको अगुवाइमा नियमविपरीत पटक–पटक सरुवा गरेर दुःख दिने गरिएको उनीहरूको आरोप छ । कतिपय कर्मचारीको एक महिनामै दुई पटकसम्म सरुवा भएको दाबीसमेत ज्ञापनपत्रमा गरिएको छ । यो विषयमा तीनपाटनका स्वास्थ्य शाखा प्रमुखसँग पनि हामीले संवाद गर्ने प्रयास गरेका छौं । निक्कै पटक फोन नउठाएका उनीसँग सम्पर्क भएको थियो । तर सबै प्रश्नको जवाफ उनीमार्फत हामीले लिन सकेनौं । उनले बिरामी आएकाले फोनमा संवाद गर्न नसक्ने जानकारी गराएपछि हामीले उनीसँगको फोन संवाद बिच्छेद गर्यौैं ।
पालिकाका स्वस्थ्य इकाइहरुमा स्वास्थ्यका कर्मचारी आवश्यकताअनुसार नखटाएको गुनासो पनि छ । जुन तहको दक्षता र क्षमता चाहिँन्छ, त्यो तहको दक्षता र क्षमता भएको कर्मचारी पालिकाले नखटाउँदा बिरामीले उपचार पाउन मुश्कील हुने निश्कर्ष खटिएकै कर्मचारीहरुको छ ।
पालिकाले स्वास्थ्य शाखा प्रमुख नियुक्तिमा पनि मेरिटोक्रेशी मिचेर काम गरेको आरोप लगाइएको छ । पालिकामा अहिले स्वास्थ्य शाखा प्रमुखमा राम बेचन साह छन् । उनी सिनियर अहेब हुन् । उनीभन्दा सिनियर इन्द्र दुलाल सिनियर अहेब रहेका छन् । गंगा बुढाथोकी र पवित्रा विक जनस्वास्थ्य निरीक्षक पालिकामै कार्यरत छन् । तर साहलाई अरु तीनजना सिनियर हुँदा हुँदै पनि राजनीतिक स्वार्थका लागि शाखा प्रमुखको जिम्मेवारी दिइएको छ । अरुलाई पालिकाका अन्य इकाइहरुमा खटाइएको छ । यो विषयमा पनि स्वास्थ्यका कर्मचारीको असन्तुष्टि देखिन्छ ।
पालिकाको नेतृत्व अहिले कांग्रेस र माओवादीले गरेको छ । पालिका अध्यक्ष कर्णबहादुरले पालिकाको नेतृत्व गरेको लगभग दश वर्ष पुग्दै छ । तर उनको कार्यकाल सकिन लाग्दा पालिकाको स्वास्थ्य क्षेत्र नै डामाडोल हुँदै गएको छ । राजनीतिक स्वार्थ र पार्टीको कार्यकर्ता हेरेर काम गर्दा कर्णबहादुर पालिकामै बदनाम हुँदै गएका छन् । यसअघि मेयरसाप डटकमले उनले गरेका आर्थिक अनियमितताको श्रीङ्खलाबद्ध समाचार सार्वजनिक गरेको थियो । तर उनले ती समाचारपछि पनि पालिका सुधार गर्न सकेको देखिँदैन । अहिले पनि ३ वर्षदेखि सुत्केरी साहार्ने स्वास्थ्यकर्मीहरुको पाउनुपर्ने पारिश्रमिक हराएको, कमसल औषधी भित्र्याएको, स्वास्थ्यकर्मीहरुले गलत भएको विषयमा कुरा उठाउँदा तत्काल दुर्गममा सरुवा गरी पठाउने गरेको गम्भीर आरोप पालिकाको नेतृत्वमाथि उठेको छ । अशोक पुलामी पालिकाको उपाध्यक्ष छन् । उनी तत्कालीन माओवादी र अहिलेको नेकपाबाट निर्वाचित प्रतिनिधि हुन् । उनले स्वास्थ्यको विषयमा आफूलाई कुनै कुरा थाहा नभएको र त्यसको सम्पूर्ण जानकारी अध्यक्षसँग हुने हामीलाई बताएका छन् ।
Facebook Comments