Election Commission of Nepal प्रतिनिधि सभा निर्वाचन, २०८२: २५ दिन | १० घण्टा | ४७ मिनेट | ०० सेकेन्ड

मकवानपुरमा मदिरा बिक्री–वितरणमा पूर्ण रोक

User Image मेयरसाप डेस्क | २०८२ फागुन १८ गते ०७:१९
Image of https://mayorsap.com/storage/photos/shares/madira.jpeg

हेटौँडा । फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै जिल्ला प्रशासन कार्यालय मकवानपुरले मदिरा बिक्री–वितरणमा पूर्ण रोक लगाउने निर्णय कार्यान्वयनमा कडाइ गरेको छ। प्रशासनले फागुन १४ गते सूचना जारी गर्दै निर्वाचनको अन्तिम परिणाम घोषणा नहुन्जेलसम्म जिल्लाभर मदिरा बिक्री तथा वितरण नगर्न निर्देशन दिएको थियो।

सोही निर्णयको प्रभावकारी कार्यान्वयन सुनिश्चित गर्न जिल्ला सुरक्षा समिति मैदानमा उत्रिएको छ। अनुगमनका क्रममा मदिरा बिक्री गर्ने कुनै पनि पसल वा होटलले निर्वाचनको अन्तिम परिणाम घोषणा नभएसम्म मदिरा बिक्री गर्न नपाउने स्पष्ट पारिएको छ। साथै, होटल तथा पसलहरू राति ९ बजेपछि सञ्चालन गर्न नपाइने व्यवस्था पनि कडाइका साथ लागू गरिएको प्रशासनले जनाएको छ।

अनुगमन टोलीको नेतृत्व प्रमुख जिल्ला अधिकारी बसन्त अधिकारीले गरेका थिए । टोलीमा सहायक प्रमुख जिल्ला अधिकारी मोहनराज जोशी, जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रमुख प्रहरी उपरीक्षक श्याम बहादुर खत्री, सशस्त्र प्रहरी बल १४ नम्बर बाहिनी हेटौडा हेडक्वाटरका प्रहरी उपरीक्षक नवीन खड्का तथा राष्ट्रिय सूचना केन्द्र मकवानपुरका प्रमुखसहितको सहभागिता रहेको थियो।

प्रशासनले निर्णय उल्लङ्घन गर्दै मदिरा बिक्री गरेको वा राति ९ बजेपछि होटल–पसल सञ्चालन गरेको पाइएमा कानुनी कारबाही प्रक्रिया अघि बढाइने चेतावनी दिएको छ। निर्वाचनलाई शान्त, मर्यादित र निष्पक्ष वातावरणमा सम्पन्न गराउन सबै व्यवसायी तथा सर्वसाधारणलाई नियमको पूर्ण पालना गर्न प्रशासनले आग्रह गरेको छ।


Facebook Comments