रौतहटको राजपेडामा शंकास्पद वस्तु फेला, स्थानीयमा त्रास फैलियो
सेनाको बम डिस्पोजल टोली परिचालन
मेयरसाप डेस्क
|
२०८२ फागुन १९ गते ०८:३३
रौतहट । चन्द्रपुर नगरपालिका–५ राजपेडामा सडक छेउमा शंकास्पद वस्तु फेला परेको छ । स्थानीय बासिन्दाले शंकास्पद वस्तु देखेपछि तत्काल प्रहरीलाई सूचना दिएका थिए।
सूचना पाएपछि इलाका प्रहरी कार्यालय चन्द्रपुरबाट खटिएको टोलीले घटनास्थल सुरक्षित बनाउँदै सुरक्षा घेरा कायम गरेको छ। नेपाली सेनाको नारायण दल गणबाट बम डिस्पोजल टोली खटाइएर उक्त वस्तुको जाँच र निष्क्रियकरण प्रक्रिया अघि बढाइरहेको छ।
निर्वाचन नजिकिएसँगै सोमबारै पनि राजपुर नगरपालिका–६ मा पनि शंकास्पद वस्तु फेला परेको थियो, जसलाई सेनाले निष्क्रिय पारिसकेको छ। यति बेला शंकास्पद वस्तु लगातार फेला पर्न थालेपछि स्थानीयमा त्रास फैलाएको छ।
रौतहटका चारवटै निर्वाचन क्षेत्रमा एक–एक बम डिस्पोजल टोली परिचालित गरिएको छ भने गौर–चन्द्रपुर सडक खण्डको लागि छुट्टै टोली खटाइएको छ।
सुरक्षा निकायले सर्वसाधारणलाई अफवाहमा नलाग्न र शंकास्पद वस्तु देखिएमा तत्काल प्रहरीलाई जानकारी गराउन आग्रह गरेको छ।
Facebook Comments