Election Commission of Nepal प्रतिनिधि सभा निर्वाचन, २०८२: २५ दिन | १० घण्टा | ४७ मिनेट | ०० सेकेन्ड

मध्यपूर्वका नेपालीको अवस्थाप्रति सरकार गम्भीर, ‘इमर्जेन्सी रेस्पोन्स टिम’ गठन

User Image मेयरसाप डेस्क | २०८२ फागुन १९ गते १९:१७
Image of https://mayorsap.com/storage/photos/shares/pararastra-mantralaya-meeting.jpg

काठमाडौं । मध्यपूर्वमा बढ्दो तनावका कारण संकटमा परेका नेपाली नागरिकको सुरक्षा सुनिश्चित गर्न नेपाल सरकारले इमर्जेन्सी रेस्पोन्स टिम गठन गरेको छ । परराष्ट्र मन्त्रालयका अनुसार टोलीमा विभिन्न मन्त्रालय र निकायका प्रतिनिधि सहभागी छन् ।

मन्त्रालयका सहसचिव श्री लोकबहादुर पौडेल क्षेत्रीका अनुसार कुवेत, दुबई, एर्बिल लगायतका स्थानमा ट्रान्जिटमा रहेका नेपाली सुरक्षित छन् । इरानमा रहेका १० नेपालीमध्ये दुई जना नेपाल फर्किसकेका छन् भने बाँकी सुरक्षित रहेका छन् । केहीको रेसिडेन्सी कार्ड एक्सपायर भएकाले तुरुन्त फर्किन नसकिएको बताइएको छ ।

मन्त्रालयले नेपाली नागरिकलाई सुरक्षित स्थानमा रहन, स्थानीय तथा सरकारी निर्देशन पालना गर्न, अफवाहमा नपर्न र नियमित सम्पर्कमा रहन आग्रह गरेको छ । साथै, कन्सुलर सेवा विभागले मध्यपूर्वमा रहेका नेपालीको विवरण संकलनका लागि अनलाइन पोर्टल सञ्चालनमा ल्याएको छ ।

मध्य एसिया, पश्चिम एसिया तथा अफ्रिका महाशाखा प्रमुख रामकाजी खड्काका अनुसार, इरानले कुवेतमा रहेका अमेरिकी सैन्य बेसमा आक्रमण गरेपछि कुवेतमा ट्रान्जिटमा आएका ९० नेपालीलाई होटेलमा राखिएको छ। त्यसैगरी, इराकको एर्बिल अन्तर्राष्ट्रिय विमानस्थलमा कार्यरत १५० नेपालीलाई सुरक्षित स्थानमा सारिएको छ ।

परराष्ट्र मन्त्रालयले संकटको समयमा सत्य तथ्य जानकारीको प्रवाहलाई उच्च प्राथमिकता दिएको बताएको छ। लगभग १७ लाखभन्दा बढी नेपालीको सुरक्षा सुनिश्चित गर्न मन्त्रालयले लगातार अपडेट र जानकारी प्रवाह गरिरहेको छ ।

मन्त्रालयले परिवार तथा समुदायलाई संयमित रहन र संवेदनशील स्थानमा नजान विशेष अनुरोध गरेको छ ।


Facebook Comments