निर्वाचनपछि सरकार गठन कसरी हुन्छ ?
मेयरसाप डेस्क
|
२०८२ फागुन २० गते १०:५२
काठमाडौं । आगामी बिहीबार प्रतिनिधिसभाको निर्वाचन हुँदैछ। मतदान शान्तिपूर्ण रूपमा सम्पन्न भई कुनै स्थानमा मतदान स्थगित नभए फागुन २५ गतेभित्र नतिजा तयार गर्ने तयारी निर्वाचन आयोग ले गरेको छ।
कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीका अनुसार प्रत्यक्ष र समानुपातिक दुवै प्रणालीतर्फको मतगणना सकेर फागुन महिनाभित्रै राष्ट्रपतिसमक्ष निर्वाचन प्रतिवेदन बुझाउने लक्ष्य छ। मतदान सकिएपछि निर्वाचन अधिकृतको कार्यालयले पहिलो चरणमा प्रत्यक्षतर्फ मतगणना गर्छ र त्यसपछि समानुपातिक मतगणना सम्पन्न गरी विवरण आयोगमा पठाइन्छ।
समानुपातिक मतको अन्तिम गणना तथा सिट बाँडफाँटपछि आयोगले दलहरूलाई प्राप्त सिट संख्या निर्धारण गरिदिन्छ। त्यसपछि सम्बन्धित दलहरूले आफ्नो तर्फबाट निर्वाचित सांसदहरूको नामावली आयोगमा पेश गर्छन्।
प्रतिनिधिसभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा ६२ अनुसार निर्वाचनको नतिजा घोषणा भएको सात दिनभित्र आयोगले प्रत्यक्ष र समानुपातिक दुवै प्रणालीको अन्तिम परिणामसहितको प्रतिवेदन राष्ट्रपतिसमक्ष पठाउनुपर्ने व्यवस्था छ। यही संवैधानिक र कानुनी प्रावधानअनुसार फागुन मसान्तसम्म प्रतिवेदन बुझाउने तयारी रहेको आयोगले जनाएको छ। अधिकतम अवस्थामा चैतको पहिलो साताभित्र प्रतिवेदन राष्ट्रपतिको कार्यालयमा पुग्ने सम्भावना छ।
निर्वाचन परिणामको औपचारिक जानकारी राष्ट्रपतिले प्राप्त गरेसँगै नयाँ सरकार गठन प्रक्रिया प्रारम्भ हुन्छ। संविधानको धारा ७६ बमोजिम, यदि कुनै दलले प्रतिनिधिसभामा स्पष्ट बहुमत प्राप्त गरेको छ भने धारा ७६(१) अनुसार सो दलको संसदीय दलका नेतालाई प्रधानमन्त्रीमा नियुक्त गरिन्छ।
तर कुनै पनि दलले स्पष्ट बहुमत नपाएको अवस्थामा धारा ७६(२) अनुसार दुई वा दुईभन्दा बढी दलको समर्थन प्राप्त गर्न सक्ने प्रतिनिधिसभा सदस्यलाई प्रधानमन्त्री नियुक्त गर्ने प्रक्रिया अघि बढ्छ। त्यसका लागि राष्ट्रपतिबाट सरकार गठनका लागि औपचारिक आह्वान गरिन्छ।
यसैबीच संविधानको धारा ९३(१) अनुसार निर्वाचनको अन्तिम परिणाम घोषणा भएको एक महिनाभित्र संघीय संसदको अधिवेशन बोलाउनुपर्ने व्यवस्था छ। त्यसैले निर्वाचन नतिजा सार्वजनिक भएलगत्तै संसदीय प्रक्रिया र सरकार गठन दुवै चरण समानान्तर रूपमा अघि बढ्ने देखिन्छ।
परिणामको स्वरूपअनुसार सरकार गठनको समयावधि फरक पर्न सक्छ। स्पष्ट बहुमत आएको अवस्थामा प्रधानमन्त्री नियुक्ति प्रक्रिया छिटो सम्पन्न हुने सम्भावना रहन्छ। तर गठबन्धन सरकार बन्ने अवस्था भएमा दलहरूबीच सहमति र राष्ट्रपतिको आह्वान प्रक्रियाका कारण केही समय लाग्न सक्छ। सामान्यतया अन्तिम परिणाम सार्वजनिक भएको एक/डेढ साताभित्र सरकार गठन हुने आंकलन गरिएको छ।
Facebook Comments