ट्रान्जिटमा यूएईमा रोकिएका नेपालीको विवरण संकलन सुरू
मेयरसाप डेस्क
|
२०८२ फागुन २० गते १३:३१
काठमाडौं । ट्रान्जिटका क्रममा यूएईमा रोकिएका नेपाली नागरिकहरूको विवरण संकलन सुरु गरिएको छ।
नेपाल फर्किने वा तेस्रो मुलुक जाने क्रममा हालको जटिल अन्तर्राष्ट्रिय परिस्थितिका कारण यूएईमा अलपत्र परेका नेपालीहरूको तथ्यांक संकलन थालिएको हो। कन्सुलर सेवा विभाग ले विशेष गरी कम्पनीको भिसा रद्द भई नेपाल फर्किने तयारीमा रहेका तथा ट्रान्जिटमा समस्या भोगिरहेका नेपालीलाई आफ्नो विवरण उपलब्ध गराउन अनुरोध गरेको छ।
विभागले अनलाइन प्रणाली तथा क्यूआर कोडमार्फत विवरण बुझाउने व्यवस्था मिलाएको जनाएको छ। पछिल्लो समय इरान र इजरायल–अमेरिका बीचको द्वन्द्वका कारण उडान प्रभावित भएपछि धेरै नेपाली ट्रान्जिटमा रोकिएका हुन्। प्रभावित नागरिकहरूको उद्धार तथा आवश्यक सहयोगका लागि विशेष अनलाइन पोर्टल सञ्चालनमा ल्याइएको छ।
परराष्ट्र मन्त्रालय का सहसचिव रामजी खड्का का अनुसार हाल करिब २५० नेपाली ट्रान्जिटमा रहेका छन्। यो संख्या बढेर एक हजारसम्म पुग्न सक्ने अनुमान गरिएको छ।
अबुधाबी र कुवेतबाट प्राप्त प्रारम्भिक विवरणअनुसार साढे दुई सयको हाराहारीमा नेपाली ट्रान्जिटमा परेको जानकारी आएको छ। हाल उनीहरू सम्बन्धित एयरलायन्सको जिम्मामा रहेको र नेपाल फर्काउने वा गन्तव्य मुलुकसम्म पुर्याउने जिम्मेवारी सम्बन्धित एयरलायन्सकै हुने सहसचिव खड्काले स्पष्ट पारे।
उडान नियमित नभएसम्मका लागि अस्थायी रूपमा बसोबास तथा खानपानको व्यवस्था मिलाइएको छ। हवाई सेवा सुचारु हुनेबित्तिकै प्राथमिकताका आधारमा गन्तव्यमा पठाइने तयारी भइरहेको मन्त्रालयले जनाएको छ।
Facebook Comments