Election Commission of Nepal प्रतिनिधि सभा निर्वाचन, २०८२: २५ दिन | १० घण्टा | ४७ मिनेट | ०० सेकेन्ड

निर्वाचनका दिन अधिकांश स्थानमा मौसम सफा रहने

User Image मेयरसाप डेस्क | २०८२ फागुन २० गते १५:२०
Image of https://mayorsap.com/storage/photos/shares/season-in-election.png

काठमाडौं । जल तथा मौसम विज्ञान विभागले प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गर्दै विशेष मौसम बुलेटिन सार्वजनिक गरेको छ ।

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयअन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले बुधबार जारी गरेको ‘निर्वाचन विशेष मौसम बुलेटिन–२’ अनुसार फागुन २० गतेदेखि २२ गतेसम्म उल्लेखनीय मौसमी प्रणालीको प्रभाव नदेखिने जनाएको छ ।

विभागका अनुसार निर्वाचन अवधिभर देशका अधिकांश भू–भागमा मौसम सामान्यतया स्थिर रहनेछ । तर, कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी क्षेत्रमा फागुन २० गते एक–दुई स्थानमा फाटफुट वर्षा तथा हिमपातको सम्भावना रहेको छ ।

ती क्षेत्रमा फागुन २१ गते आंशिक बदली रहने र २२ गते पुनः एक–दुई स्थानमा हल्का वर्षा वा हिमपात हुन सक्ने पूर्वानुमान गरिएको छ ।

मधेश प्रदेशका तराई क्षेत्रसहित लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका अधिकांश भू–भागमा भने तीनै दिन मुख्यतया सफा मौसम रहने उल्लेख गरिएको छ । लुम्बिनी प्रदेशको हिमाली क्षेत्रमा आंशिक बदली रहने सम्भावना भए पनि तराई क्षेत्रमा मौसम सफा रहनेछ ।

विभागले निर्वाचन अवधिभर मौसमको निरन्तर अनुगमन तथा विश्लेषण जारी राख्ने जनाएको छ । साथै, सम्बन्धित निकाय तथा आम सर्वसाधारणलाई अद्यावधिक मौसम सूचनामा ध्यान दिन अनुरोध गरेको छ ।


Facebook Comments