प्रतिनिधि सभा निर्वाचन अन्तर्गत देशभर मतदान सुरु
मेयरसाप डेस्क
|
२०८२ फागुन २१ गते ०७:१४
काठमाडौं । निर्वाचन आयोगले प्रतिनिधि सभा निर्वाचन २०८२ अन्तर्गत देशभर आज बिहान ७ बजेदेखि मतदान सुरु भएको जनाएको छ। आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईका अनुसार बिहान ७ बजेदेखि देशव्यापी रूपमा मतदान सुरु भएको हो। उनका अनुसार अधिकांश स्थानमा मतदान शान्तिपूर्ण र निर्वाध रूपमा सुरु भएको खबर प्राप्त भएको छ।
मतदाताले आज अपराह्न ५ बजेसम्म मतदान गर्न पाउने व्यवस्था गरिएको छ। आयोगले मतदाता परिचयपत्र, नागरिकताको प्रमाणपत्र, राष्ट्रिय परिचयपत्र, सवारीचालक अनुमतिपत्र, राहदानी वा लालपुर्जा देखाएर मतदान गर्न सकिने जनाएको छ।
मतदान केन्द्रहरूमा महिला र पुरुषका लागि छुट्टाछुट्टै लाइनको व्यवस्था गरिएको छ। अपाङ्गता भएका, अशक्त, वृद्धवृद्धा, बिरामी, सुत्केरी तथा गर्भवतीलाई भने लाइनमा नबसिकन मतदान गर्ने विशेष सुविधा प्रदान गरिएको छ।
निर्वाचनका लागि देशभर १० हजार ९६७ मतदान स्थलमा २३ हजार ११२ मतदान केन्द्र निर्धारण गरिएको छ। तीमध्ये ३ हजार ६८० मतदान केन्द्र अति संवेदनशील, ४ हजार ४४२ संवेदनशील र २ हजार ८४५ सामान्य मतदान केन्द्रका रूपमा वर्गीकरण गरिएको आयोगले जनाएको छ।
त्यसैगरी १४३ अस्थायी मतदानस्थल तय गरिएको छ। निर्वाचन सुरक्षाका लागि ७९ हजार ७२७ नेपाली सेना, ७५ हजार ७९७ नेपाल प्रहरी, ३४ हजार ५६७ सशस्त्र प्रहरी बल, १ हजार ९२१ राष्ट्रिय अनुसन्धान विभाग र १ लाख ४९ हजार ९० निर्वाचन प्रहरी परिचालन गरिएको छ। निर्वाचन व्यवस्थापनका लागि करिब २ लाख १५ हजार सरकारी कर्मचारी खटिएका छन्।
Facebook Comments