लेबनानमा खटिएको नेपाली सैनिकको बटालियन हेडक्वाटरमा हमला
सबै सैनिक सुरक्षित
मेयरसाप डेस्क
|
२०८२ फागुन ३१ गते ०९:११
काठमाडौं । संयुक्त राष्ट्रसंघ 'युएन'को शान्ति मिसन अन्तर्गत लेबनानमा खटिएको नेपाली सैनिकको बटालियन हेडक्वाटरमा शुक्रबार बेलुका हमला भएको छ। समाचार एजेन्सी एएफपीका अनुसार हमला माइस–अल–जबाल क्षेत्रमा भएको हो।
नेपाली सेनाका प्रवक्ता राजाराम बस्नेतका अनुसार नेपाली सैनिकहरू सुरक्षित छन्। बटालियनको हेडक्वाटरमा केही विष्फोट भएको छ, एउटा घरमा क्षति पुगेको छ र केही व्यक्तिगत सामानमा क्षति पुगेको छ। तर कुनै मानवीय क्षति भएको छैन उनले भने ।
लेबनानमा करिब ५ सय नेपाली शान्ति सैनिक तैनाथ छन्। उक्त बटालियन हेडक्वाटर दक्षिण लेबनान, इजरायलसँगको सिमानासँग नजिक रहेको छ। आक्रमणको बेला सबै सैनिक बंकरभित्र रहेकाले सुरक्षित रहेको बताइएको छ। तर बटालियनमा आक्रमणको समयमा कति सैनिक उपस्थित थिए भन्ने कुरा पुष्टि भएको छैन।
लेबनानको सरकारी समाचार संस्था नेशनल न्युज एजेन्सीले इजरायलबाट खसेको गोला नेपाली सैनिकको हेडक्वाटरमा परेको जनाएको छ। नेपाली सेनाले पनि गोलाबारीको स्रोत पत्ता लगाउन छानबिन सुरु गरेको छ।
यसैबीच, संयुक्त राष्ट्रसंघका महासचिव अन्तोनियो गुटेरेसले शान्ति सैनिकलाई निशाना बनाउनु अस्वीकार्य भएको उल्लेख गर्दै हालको द्वन्द्व तुरुन्त रोक्न अपिल गरेका छन्। उनले अन्तर्राष्ट्रिय समुदायलाई शान्ति बहाल र सुरक्षा सुनिश्चित गर्न सक्रिय भूमिका लिन आग्रह गरेका छन्।
गुटेरेसले लेबनान, इजरायल र अन्य क्षेत्रका जनतालाई निर्भयपूर्वक जीवन यापन गर्न पाउने अधिकार सुनिश्चित गर्नुपर्नेमा जोड दिएका छन्।
Facebook Comments