३६ घण्टा बन्द कोठामा सांसदलाई के सिकाउँदै छ रास्वपा ? विपश्यना भन्दा कडा छ नियम
अम्बिका खड्का
|
२०८२ चैत ३ गते १०:५५
काठमाडौं । पुराना राजनीतिक दलहरुलाई भित्तामा पुर्याएर राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सत्ताको चौखटमै उभिएको छ । १८२ सिटको ऐतिहासिक जितसँगै शासनको भारी जिम्मेवारी रास्वपाकै काँधमा आएको छ । यति बेला राजनीतिक वृत्तमा मात्र होइन् गल्लीका चिया पसलदेखि घर–घरमा बालेन शाहा, प्रधानमन्त्री बन्ने दिन, गन्ती भइरहेको छ । बालेन सरकारका मन्त्रीहरु को–को ? भन्ने चासो बढेको छ । तर यही उचाइ, अपेक्षा र उत्साहका बीच रास्वपाले सबैलाई चकित पार्ने कदम चालेको छ । सत्ताको दौडमा हतार नगरी, रास्वपाले आफ्ना सांसदलाई संसद प्रवेशअघि नै पूर्ण रुपमा तयार बनाउने रणनीति अघि सारेको छ । त्यो पनि सेनाको कमान्डो तालिमभन्दा कडाशैलीमा ।
रास्वपाले आफ्ना सांसदहरुलाई सांसदका काम, कर्तव्य र अधिकार, पार्टीका नीति र उद्देश्य, सांसदको पदमा रहेर गर्न हुने नहुने क्रियाकलापबारे टिउसनै पढाउन सुरु गरेको छ । मंगलबारदेखि ललितपुरको होटल रोयल टुलिपमा दुइ दिने आवासीय अभिमुखीकरण कार्यक्रम सुरु भएको छ । तर, रास्वपाको यो अभिमुखिकरण कार्यक्रमभन्दा यसका नियमहरुको चर्चा बढी छ । अभिमुखिकरण तामिको नियम हेर्ने हो भने यो सामान्य राजनीतिक प्रशिक्षणभन्दा बढी–सेनाको कमान्डो तालिमजस्तो कडा र नियन्त्रित देखिन्छ । कार्यक्रमको सबैभन्दा रोचक र चर्चित पक्ष भनेको–मोबाइल फोन पूर्ण रुपमा निषेध गर्नु हो ।
सामाजिक सञ्जालमा चर्चा कमाएरै निर्वाचन लडेका तथा समानुपातिकमा परेका रास्वपाका सांसदहरुलाई संसद छिर्नु अघि नै रास्वपाले मोबाइल, सामाजिक सञ्जाल र मिडियाबाट टाढा राख्ने प्रयास गरेको छ ।
यस्ता छन्, अभिमुखिकरण तालिमका कट्टर नियमहरुः
नम्बर १. सांसदहरुले तालिम अवधिभर मोबाइल फोन प्रयोग गर्न पाउने छैनन्
नम्बर २.कार्यक्रम हलमा कुनै बाह्य व्यक्ति वा पाहुनाको प्रवेश निषेध गरिएको छ, परिवारका सदस्य, साथी वा अन्य कोही पनि होटलमा आमन्त्रण समेत गर्न पाउने छैनन्,
नम्बर ३.सांसदका चालक वा अन्य सहयोगी कसैको पनि भोजन र आवासको व्यवस्था सम्बन्धित सांसद आफैंले गर्नुपर्ने छ, र उक्त व्यवस्था आफू बसेको होटलमा समेत गर्न पाइने छैन
नम्बर ४.सांसदहरुले कार्यक्रम स्थलमा परिवार सदस्य वा अन्य व्यक्तिसँग भेटघाट, फोटो खिच्ने वा बैठक गर्न पाउने छैनन्
नम्बर ५.सांसदहरुले औपचारिक पोशाक मात्र लगाउनु पर्नेछ,
रास्वपाले किन यति कडा नियमका बीच दिँदैछ सांसदहरुलाई अभिुमुखीकरण तालिम ?
संसद भन्ने बित्तिकै हामीलाई के याद आउँछ ? पक्कै पनि एउटा पार्टीका सांसद बोल्दा अर्को पार्टीका सांसदले विरोध गरेको, होहल्ला गरेको, कोही हाइकाढ्दै बसेको कोही घुरिरहेको, कोही मोबाइलमा व्यस्त त कोही कापीमा लेखिदिएको शब्द समेत फुटाएर पढ्न नजानेको ।
हो, यही संसदको परिदृश्य दोहोरिन नदिन रास्वपाले नयाँ संसदीय अभ्यास सुरु गरेको हो । विभिन्न पेसा व्यवसायमा व्यस्त, कहिल्यै राजनीतिमा नलागेका, कानुनमा सिमित ज्ञान भएका युवाहरुलाई रास्वपाले सांसद बनेर संसद छिर्ने सुनौलो अवसर त दिएको छ, तर उनीहरुसँग संसदीय अभ्यासको ज्ञान प्राय शून्य नै छ । भर्खरै पार्टी प्रवेश गरेर सांसद बनेका अनुहार पनि धेरै छन्, जसलाई पार्टीको नीति र उद्देश्य नै थाहा नहुन सक्छ । भोलि संसदमा होस् वा मिडियामा आफ्ना सांसदले उल्लोपाल्टो नबोलुन्, ट्रोलको शिकार नबनुन् भन्नेमा रास्वपा सचेत छ । त्यसैले ध्यान केन्द्रीत गराउन र तालिमको प्रभावकारीता सुनिश्चित गर्न रास्वपाले मोबाइल फोन र फोटो भिडियो निषेध गरेको छ । अर्को तर्फ, नेताहरुले आफ्ना आसेपासेलाई पोस्ने गरेको जनगुनासो विष्फोट हुँदा जेनजी आन्दोलन भएको थियो । शुसासनको ढोल पिटेरै जनमत आफ्नो पक्षमा पारेको रास्वपाले नातावाद, कृपावाद, भ्रष्टाचार लगायतका अनियमितताबाट आफ्ना सांसदलाई टाढै राख्न पनि आफन्त, पीए, सहयोगिदेखि ड्राइभरलाई समेत पार्टीले बस्ने, खाने सुविधा नदिएको हुन सक्छ ।
यो अभिमुखीकरण कार्यक्रमलाई रास्वपाले केवल प्रशिक्षण नभए, पूर्ण अनुशासन, ध्यान केन्द्रित र संसदीय जिम्मेवारीबोध विकास गर्ने यन्त्रका रुपमा प्रयोग गरेको छ । यसले सांसदहरुलाई व्यवहारिक, पेशेवर र पार्टी तथा देशको अपेक्षासँग मेल खाने नेताका रुपमा रुपान्तरण गर्ने रास्वपाको रणनीति समेत झल्काउँछ ।
यद्यपी रास्वपाले अभिमुखीकरणका निम्न उद्देश्यहरु सार्वजनिक गरेका छ
१.नवनिर्वाचित सांसदहरुलाई संसदीय प्रकृया, कानुन निर्माण, नीतिगत विश्लेषण र जनप्रतिनिधिको भूमिका बार स्पष्ट गराउने,
२.सांसदहरुलाई प्रभावकारी, उत्तरदायी र परिणाममुखी प्रतिनिधि बन्न सहयोग गर्ने,
३.पार्टीको रणनीति, दृष्टीकोण र नीतिगत प्राथमिकता स्पष्ट गराउने,
४.सांसद, सरकार र नर्वाचन क्षेत्रबीच प्रभावकारी समन्वय कायम गर्न सक्षम बनाउने,
मंगलबार पार्टीका उपसभापतिद्वय डोलप्रसाद अर्याल र डा.स्वर्णिम वाग्लेले घण्टी बजाएर अभिमुखीकरण कार्यक्रमको शुभारम्भ गरेका छन् । अभिमुखीकरणको शुभारम्भमा नदेखिएका पार्टी सभापति रवि लामिछाने र वरिष्ठ नेता बालेन शाहा भने बुधबार समापन कार्यक्रममा मात्र उपस्थित हुने भएका छन् । अभिमुखीकरणमा नेपाल सरकारका पूर्वसचिव, आईटीविज्ञलगायतका व्यक्तिहरुले विभिन्न विषयमा जानकारी प्रदान गर्ने कार्यसूची रहेको छ । रास्वपाबाट यसअघि सांसद बनिसकेकाहरुले भने संसदीय अनुभव पनि सुनाउने कार्यक्रम छ । अभिमुखीकरण कार्यक्रम बुधबार साँझसम्म चल्नेछ ।
Facebook Comments