आज देशभर खतरनाक वर्षाको चेतावनी, २३ जिल्लामा रेड अलर्ट जारी
काठमाडौंसहित ३५ जिल्लामा ठूलो बाढीको चेतावनी, देशभरका दर्जनौं सडक अवरुद्ध
मेयरसाप डेस्क
|
२०८३ असार ३२ गते १३:००
नेपालमा शनिबार साँझबाट सक्रिय बनेको वर्षा गराउने प्रणाली आज आइतबार झन् शक्तिशाली बनेको छ। मौसमविद्हरूका अनुसार आज आइतबारदेखि सोमबार बिहानसम्म देशभर वर्षा हुने भएको छ। तर सबैभन्दा बढी जोखिम कोशी, बागमती र गण्डकी प्रदेशका जिल्लामा देखिएकाले यहाँका २३ वटा जिल्लामा रेड अलर्ट जारी गरिएको छ। बाढी महाशाखाका अनुसार आज काठमाडौँ, भक्तपुर, ललितपुरसहित देशभरका ३५ जिल्ला र आसपासका खोला–नदीमा ठुलो बाढी आउने सम्भावना देखिएको छ।
जल तथा मौसम विज्ञान विभागका अनुसार कोशी, लुम्बिनी र सुदूरपश्चिमका पहाडी तथा तराई क्षेत्र, साथै मधेश, बागमती र गण्डकीका केही स्थानमा मुसलधारे वर्षा हुने सम्भावना छ। केही ठाउँमा भने भीषणदेखि अत्यधिक वर्षासमेत हुन सक्ने चेतावनी दिइएको छ।
यसअघि लगातार पानी परेर माटो गलेका, सडक बिग्रिएका र पहिरोको जोखिम बढेका क्षेत्रलाई लक्षित गर्दै प्रभावमा आधारित रेड अलर्ट जारी गरिएको हो।
यसको सीधा असर सडक सञ्जालमा देखिन थालेको छ। काठमाडौं जोड्ने कान्ति लोकपथ र भीमफेदी–कुलेखानी–सिस्नेरी सडक पहिरोका कारण पूर्ण रूपमा अवरुद्ध छन्। बिपी राजमार्ग र नारायणगढ–मुग्लिन सडकखण्डमा पहिरो जाने र खुलाउने क्रम निरन्तर जारी छ । वीपी राजमार्गमा सम्भावित बाढीको जोखिमका कारण सवारी आवागमन रोकिएको छ भने नारायणगढ–मुग्लिन सडकखण्डमा रातिको यात्रा अनिश्चितकालका लागि बन्द गरिएको छ। यो सडकमा हरेक दिन पहिरो खसिरहेको छ ।
यति मात्रै होइन, अरनिको राजमार्ग, पासाङ ल्हामु सडक, कालीगण्डकी करिडोर, मेची राजमार्ग, मध्यपहाडी लोकमार्ग र सालझण्डी–ढोरपाटन सडकका विभिन्न खण्डमा पनि पहिरो र बाढीका कारण यातायात प्रभावित भएको छ।
नेपाल प्रहरीले अत्यावश्यक काम बाहेक यात्रा नगर्न र यात्रा गर्नै परे सडकको पछिल्लो अवस्था बुझेर मात्र निस्कन आग्रह गरेको छ। जिल्ला प्रशासन कार्यालय काठमाडौंले पनि ट्राभल एडभाइजरी जारी गर्दै राजधानी भित्रिने र बाहिरिने यात्रुलाई विशेष सतर्कता अपनाउन अनुरोध गरेको छ।
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले पनि रेड अलर्ट जारी भएका जिल्लामा रातिको सवारी सञ्चालन रोक्न स्थानीय प्रशासनलाई आग्रह गरेको छ।
Facebook Comments