हारपछि रुँदै समर्थकतर्फ हेरिरहेका मेसीले दिए भावुक प्रतिक्रिया, यमालले बनाए आधा दर्जन कीर्तिमान
व्यक्तिगत अवार्डमा स्पेनकै बर्चस्व, कसले कुन अवार्ड पाए ?
मेयरसाप डेस्क
|
२०८३ साउन २ गते ११:३४
फिफा विश्वकप २०२६ सकिएसँगै व्यक्तिगत अवार्डदेखि नयाँ–नयाँ कीर्तिमानसम्म विश्व फुटबलले थुप्रै ऐतिहासिक क्षण बनाएको छ। फ्रान्सका सुपरस्टार किलियन एम्बाप्पेले एकै प्रतियोगितामा चार ठूला रेकर्ड बनाउँदा स्पेनले टोलीको उपाधिसँगै अधिकांश व्यक्तिगत अवार्डमा पनि कब्जा जमाएको छ।
फ्रान्सलाई उपाधि जिताउन नसके पनि एम्बाप्पे व्यक्तिगत रूपमा प्रतियोगिताका सबैभन्दा ठूलो विजेता बनेका छन् । उनले ८ खेलमा १० गोल गर्दै लगातार दोस्रो पटक गोल्डेन बुट जिते। यससँगै उनी विश्वकप इतिहासमा दुई पटक गोल्डेन बुट जित्ने पहिलो खेलाडी बनेका छन् ।
यति मात्र होइन, एम्बाप्पे एकै विश्वकपमा १० गोल गर्ने सन् १९७० पछि पहिलो खेलाडी बनेका छन् । तीनवटा विश्वकप खेल्दै कुल २२ गोलसहित पुरुष विश्वकप इतिहासकै सर्वाधिक गोलकर्ता पनि एम्बाप्पेनै बनेका छन्। उनले अर्जेन्टिनाका कप्तान लियोनल मेसीको २१ गोलको कीर्तिमान तोडेका हुन् । एम्बाप्पेले यो विश्वकपबाट गोल्डेन बुटसहित बज्र बलको पुरस्कार समेत प्राप्त गरेका छन् ।
यता टोली च्याम्पियन बनेसँगै स्पेनले व्यक्तिगत अवार्डमा पनि बर्चस्व कायम गरेको छ । स्पेनका तीन खेलाडीले व्यक्तिगत अवार्ड जितेका हुन् । कप्तान रोड्री प्रतियोगिताकै उत्कृष्ट खेलाडी बन्दै गोल्डेन बल जित्न सफल भए। स्पेनका गोलकिपर उनाई सिमोनले गोल्डेन ग्लोभ्स जिते। उनले आठ खेलमा केवल एक गोल मात्र खाए भने सात खेलमा क्लिन सिट राख्दै प्रतियोगिताकै उत्कृष्ट गोलरक्षक बनेका छन् । त्यसैगरी स्पेनकै १९ वर्षीय डिफेन्डर पाउ कुबार्सीले उत्कृष्ट युवा खेलाडीको अवार्ड जिते। प्रतियोगिताभर स्पेनको रक्षापंक्तिका मुख्य आधार बनेका उनले हरेक मिनेट मैदानमा बिताए। फाइनलमा अर्जेन्टिनालाई एउटै पनि टार्गेट सट प्रहार गर्न नदिई उनले आफ्नो प्रतिभाको उत्कृष्ट नमूना प्रस्तुत गरे।
यता स्पेनका अर्को युवा स्टार लामिन यमालले पनि विश्वकपभरि लगातार नयाँ इतिहास रचे। उनले विश्वकपमा गोल गर्ने इतिहासकै सबैभन्दा कान्छो स्पेनिस खेलाडीको कीर्तिमान बनाए। १८ वर्षकै उमेरमा विश्वकप गोल गर्दै उनले मेसी र क्रिस्टियानो रोनाल्डोभन्दा कम उमेरमा गोल गर्ने उपलब्धि हासिल गरे।
यमाल प्रतियोगिताभर ३० सफल ड्रिबल गर्दै सबैभन्दा धेरै ड्रिबल गर्ने खेलाडी समेत बने। साथै, विश्वकपको नकआउट चरणमा पेनाल्टी जित्ने पछिल्ला ६० वर्षयताकै दोस्रो सबैभन्दा कान्छो खेलाडी पनि बने। पाउ कुबार्सीसँग मिलेर उनले विश्वकप सेमिफाइनलको सुरुआती ११ मा पर्ने दुर्लभ किशोर खेलाडीहरूको सूचीमा पनि आफ्नो नाम लेखाएका छन्।
विश्वकपअघि नै छ वटा उपाधि जितिसकेका यमालले स्पेनलाई विश्व च्याम्पियन बनाएसँगै आफ्नो करियरको सातौँ ठूलो उपाधि पनि जिते। डेब्यू विश्वकपमै उनले आफू विश्व फुटबलको भविष्य मात्र होइन, वर्तमान पनि भएको प्रमाणित गरे।
यो विश्वकपमा उपविजेता बनेको अर्जेन्टिनाका कप्तान लियोनल मेसीले भने सिल्भर बलमा चित्त बुझाएका छन् । उपाधि गुमाएपछि मेसी निकै भावुक बने। खेल सकिएपछि उनी धेरैबेर समर्थकतर्फ हेर्दै रोइरहे। मैदानबाट बाहिरिँदा पनि उनको आँखामा आँसु स्पष्ट देखिन्थ्यो। पदक वितरणका क्रममा पनि उनी मुस्कुराउन सकेनन्। स्पेनका खेलाडीहरूले उनलाई अँगालो हालेर सान्त्वना दिएका थिए ।
हारपछि मेसीले निकै भावुक प्रतिक्रिया दिए। उनले भने, ‘म दुःखी छु, तर हामीले आफ्नो सम्पूर्ण दिल लगाएर खेलेका छौं। स्पेन राम्रो टोली थियो, हामी हा¥यौं र त्यसलाई स्वीकार गर्छौं। तर यसले हामीले देशका लागि हासिल गरेका उपलब्धिलाई कहिल्यै मेटाउन सक्दैन। म आफ्ना समर्थक, खेलाडी र सम्पूर्ण अर्जेन्टिनालाई धन्यवाद दिन चाहन्छु।’
Facebook Comments