विश्वकप फाइनल हारेपछि अर्जेन्टिनामा मच्चियो हिंसा: समर्थक र प्रहरीबीच ठाउँ–ठाउँमा झडप, दर्जनौँ घाइते, १५ भन्दा बढी पक्राउ

User Image मेयरसाप डेस्क | २०८३ साउन ३ गते १४:४०
Image of https://mayorsap.com/storage/photos/shares/argentina-loss-thumb.jpg

एजेन्सी । विश्वकप २०२६ को फाइनलमा स्पेनसँग अतिरिक्त समयमा १–० ले पराजित भएपछि अर्जेन्टिनाको राजधानी ब्युनस आयर्स हिंसात्मक प्रदर्शनको केन्द्र बन्यो।

खेल सकिएलगत्तै हजारौँ समर्थक राजधानीको प्रसिद्ध ओबेलिस्क स्मारक वरपर भेला भएका थिए। सुरुमा टोलीप्रति समर्थन जनाउन जम्मा भएका समर्थकहरू अर्जेन्टिना पराजित भएसँगै केही समयमै आक्रोशित बने र अवस्था नियन्त्रण बाहिर गयो। प्रत्यक्षदर्शीका अनुसार केही समर्थकहरूले प्रहरीमाथि ढुंगा, सिसाका बोतल र अन्य वस्तु प्रहार गर्न थाले। त्यसपछि दंगा नियन्त्रणमा प्रहरी परिचालन गरियो।

प्रहरीले भीड नियन्त्रणका लागि अश्रुग्यास, पानीको फोहोरा र रबरका गोली प्रयोग गर्यो। झडप करिब २० मिनेटसम्म चलेको बताइएको छ। स्थानीय सञ्चारमाध्यमका अनुसार घटनामा कम्तीमा १५ जना पक्राउ परेका छन् भने दर्जनौँ व्यक्ति घाइते भएका छन्। घाइतेमध्ये सर्वसाधारण र प्रहरी दुवै रहेका छन्। समाचारअनुसार सात जना प्रहरी अधिकारी पनि झडपका क्रममा घाइते भएका छन्।

घटनाका तस्बिर र भिडियोमा एक प्रहरी अधिकारीले भुइँमा लडेका एक समर्थकको टाउकोतर्फ लात हानेको दृश्य पनि देखिन्छ। अर्को घटनामा एक व्यक्तिलाई अनुहारमा लात हानिएको तथा एक महिलालाई पनि उपचार आवश्यक परेको बताइएको छ। उनको अवस्थाबारे भने आधिकारिक जानकारी सार्वजनिक गरिएको छैन।

झडपको सुरुवात केही समर्थकहरूले ६७ दशमलव ५ मिटर अग्लो राष्ट्रिय प्रतीक ओबेलिस्क स्मारक वरपरको सुरक्षा घेरा नाघेपछि भएको बताइएको छ। त्यसपछि स्थिति थप तनावपूर्ण बन्दै गएको थियो। यता मैदानभित्र पनि खेल सकिएपछि विवाद देखिएको थियो।

स्पेनले अतिरिक्त समयमा गरेको निर्णायक गोलसँगै उपाधि जितेपछि केही अर्जेन्टिनी खेलाडीले स्पेनी खेलाडीसँग धकेलाधकेल, मुक्का प्रहार र झडप गरेको भिडियोहरू नै बाहिरिएका छन् । निर्धारित समयको अन्त्यतिर अर्जेन्टिनाका एन्जो फर्नान्डेजले मैदानमा घृणित फाउल गरेपछि दोस्रो पहेँलो कार्ड खाँदै रातो कार्डसहित मैदान छोड्नु परेको थियो। त्यसपछि खेल सकिनेबित्तिकै अर्जेन्टिनाका डिफेन्डर नाहुएल मोलिना र मिडफिल्डर लिआन्ड्रो पारेडेसले स्पेनका खेलाडीहरूप्रति आक्रामक व्यवहार देखाए। पारेडेसले स्पेनका एरिक गार्सियाको घाँटी समातेर मैदानमा पछारेपछि माहोल पूर्ण रूपमा अशान्त बनेको थियो। यस व्यवहारका लागि रेफ्रीले पारेडेसलाई पनि रातो कार्ड देखाएका थिए।

त्यस्तै अर्जेन्टिनाका प्रशिक्षक लियोनेल स्कालोनी र स्पेनका खेलाडी एरिक गार्सियाबीच पनि तनावपूर्ण अवस्था देखिएको बताइएको छ। विवाद यतिमै रोकिएन।

ट्रफी वितरण समारोहका क्रममा केही अर्जेन्टिनी खेलाडीले स्पेनी टोलीतर्फ फर्केर नहेरी उभिएको दृश्य पनि सामाजिक सञ्जालमा भाइरल भएको छ। धेरैले यसलाई खेल भावना विपरीतको व्यवहार भन्दै आलोचना गरेका छन्। यसबीच अर्जेन्टिनाका राष्ट्रपति जाभियर मिलेईले टोली हारे पनि राष्ट्रिय बिदा दिने घोषणा गरेका छन्।

उनले सामाजिक सञ्जाल एक्समार्फत विश्वकपमा राष्ट्रिय टोलीले हासिल गरेको उपलब्धिलाई सम्मान गर्न राष्ट्रिय बिदा घोषणा गरिने बताएका छन्। तर बिदाको मिति खेलाडी र प्रशिक्षकले तय गरेपछि मात्र घोषणा गरिने उनले उल्लेख गरेका छन्।

रोचक कुरा के छ भने राष्ट्रपति मिलेई स्वयं फाइनल हेर्न न्यू जर्सीस्थित स्टेडियम पुगेका थिएनन्। स्थानीय सञ्चारमाध्यमका अनुसार उनी आफू उपस्थित भए दुर्भाग्य हुन सक्छ भन्ने व्यक्तिगत अन्धविश्वासका कारण मैदान नगएको बताइएको छ। उता स्पेनमा भने विश्वकप उपाधिको भव्य स्वागतको तयारी गरिएको छ।

स्पेनी टोली सोमबार राजधानी म्याड्रिड फर्किएपछि राजा फेलिपे छैटौँ र प्रधानमन्त्री पेद्रो सान्चेजले स्वागत गर्ने कार्यक्रम छ। त्यसपछि खुला बसमार्फत विजय परेड निकालिनेछ।

प्रधानमन्त्री सान्चेजले सामाजिक सञ्जालमार्फत "हामी विश्वच्याम्पियन भयौँ। राष्ट्रिय टोलीलाई धेरै धेरै बधाई।" भन्दै खेलाडीलाई शुभकामना दिएका छन्। यसअघि सन् २०२२ मा अर्जेन्टिनाले फ्रान्सलाई हराएर विश्वकप जित्दा पनि राष्ट्रिय बिदा घोषणा गरिएको थियो। त्यसबेला लाखौँ समर्थक ब्युनस आयर्सका सडकमा ओर्लिएर टोलीको स्वागत गरेका थिए।

तर यसपटक दृश्य ठीक उल्टो बन्यो। जसरी सन् २०२२ मा विश्वकप जित्दा सडकमा उत्सव थियो, त्यसरी नै २०२६ मा हारपछि सडकमा आक्रोश देखियो। त्यसैले विश्वकप फुटबल २०२६ केवल खेल मात्र होइन, आँसु, निराशा र आक्रोश पनि बनेकाे छ । यो सबै शान्त हुन अझै केही दिन लाग्ने देखिन्छ ।

भिडियो–

 


Facebook Comments