फुड डेलिभरी ब्वाईले जिते चीनको सर्वोच्च साहित्यिक सम्मान: कामकै दाैडमा पनि काेर्थे साहित्य, अझै डेलिभरी ब्वाईकै काम गर्ने !

User Image मेयरसाप डेस्क | २०८३ साउन ३ गते १४:४३
Image of https://mayorsap.com/storage/photos/shares/food-delivery-boy-thumb.jpg

एजेन्सी । चीनका वाङ जिबिङ अहिले साहित्यिक जगतमा सबैभन्दा धेरै चर्चामा छन्। तर उनी कुनै विश्वविद्यालयका प्राध्यापक होइनन्, न त पूर्णकालीन लेखक नै। उनी पेशाले खाना डेलिभरी गर्ने राइडर हुन्। डेलिभरीका बीचमा कागजका टुक्रामा लेखेका कविताको संग्रहले उनलाई अहिले चीनको प्रतिष्ठित लु सुन साहित्य पुरस्कार दिलाएको छ। उनको कविता संग्रह ‘लो फ्लाइट’ अर्थात् तल्लो उडानले यो वर्षको पुरस्कार जितेको हो।

यो पुरस्कार आधुनिक चिनियाँ साहित्यका जनक मानिने प्रसिद्ध लेखक लु सुनको नाममा स्थापना गरिएको चीनकै सबैभन्दा प्रतिष्ठित साहित्यिक सम्मानमध्ये एक हो। ५६ वर्षीय वाङ जिबिङले करिब सन् २०१९ तिर खाना डेलिभरी गर्ने काम सुरु गरेका थिए। तर उनी केवल खाना पुर्‍याउने व्यक्ति मात्रै थिएनन्।

हरेक दिन सडकमा दौडिँदा, ग्राहकको प्रतीक्षा गर्दा वा डेलिभरी पूरा गरेपछि बाँकी रहेको केही समय उनी कवितामा आफ्ना अनुभूति उतार्थे। कतिपय कविता उनले कागजका साना टुक्रामै लेखेका थिए। यही अनुभव, संघर्ष र दैनिक जीवनका कथाहरू पछि एउटा पुस्तक बने। र त्यही पुस्तकले अहिले उनलाई चीनको उच्च साहित्यिक सम्मान दिलाएको हो।

पुरस्कार घोषणा भएको दिनको अनुभव सुनाउँदै वाङले चिनियाँ सरकारी सञ्चारमाध्यम ग्लोबल टाइम्ससँग भनेका छन्— "नतिजा आउन्जेल म अत्यन्तै तनावमा थिएँ। नाम घोषणा भएपछि मात्र मन शान्त भयो। पछिल्ला केही दिनको अत्यधिक चर्चाले मानसिक दबाब पनि निकै बढाएको थियो।"

यस पुरस्कारसँग कति नगद पुरस्कार दिइयो भन्ने सार्वजनिक गरिएको छैन। तर सन् २०१४ मा यस पुरस्कारको रकम एक लाख चिनियाँ युआन, अर्थात् करिब १४ हजार ८ सय अमेरिकी डलर रहेको थियो।

वाङको जीवन भने सुरुदेखि नै सहज थिएन। चीनको जियाङ्सु प्रान्तमा जन्मिएका उनले आर्थिक अभावका कारण किशोर अवस्थामै विद्यालय छोड्नुपरेको थियो। त्यसपछि उनले निर्माण क्षेत्रमा मजदुर, फोहोर संकलन गर्ने काम, सडक किनारमा सामान बेच्नेजस्ता अनेकौँ काम गरे। अन्ततः उनी खाना डेलिभरी गर्ने राइडर बने। तर एउटा बानी कहिल्यै छुटेन। पढ्ने र लेख्ने।

कामपछि उनले सामाजिक सञ्जालमा आफ्ना कविता र निबन्ध प्रकाशित गर्न थाले। सन् २०२२ मा उनको ‘म्यान इन अ हरी’ अर्थात् हतारिएको मानिस शीर्षकको कविता भाइरल भयो। यो कविता एउटा वास्तविक घटनाबाट प्रेरित थियो। सन् २०१९ मा एक ग्राहकले गलत ठेगाना दिएका कारण उनले घण्टौँसम्म डेलिभरी गर्न संघर्ष गर्नुपरेको थियो। त्यही अनुभवले एउटा कविता जन्मायो, जसले लाखौँ पाठकको मन छोयो।

त्यसपछि सन् २०२३ मा उनले आफ्नो पहिलो कविता संग्रह ‘म्यान इन अ हरी: पोएम्स अफ अ फुड डेलिभरी राइडर’ प्रकाशित गरे। र अहिले दोस्रो संग्रह ‘लो फ्लाइट’ ले उनलाई चीनको प्रतिष्ठित साहित्यिक पुरस्कार दिलाएको छ। यो पुस्तकका कविताहरू केवल उनको आफ्नै अनुभवमा आधारित छैनन्।

उनले करिब दुई सय डेलिभरी राइडरसँग अन्तर्वार्ता र सर्वेक्षण गरेर उनीहरूको संघर्ष, सपना, थकान र जीवनका अनुभवलाई पनि कवितामा उतारेका छन्। उनको एउटा चर्चित पंक्ति छ— "पखेटा फैलाउनु भनेको सधैं माथि उड्नु मात्र होइन, तल उड्नु पनि उडान नै हो।"

सायद यही साधारण तर गहिरो भावनाले लाखौँ मानिसलाई छोएको छ। रोचक कुरा के छ भने, यति ठूलो पुरस्कार जितेपछि पनि वाङले आफ्नो पेशा छोड्ने कुनै योजना बनाएका छैनन्। उनले भनेका छन्— "मलाई जीविकाका लागि यो काम गर्नैपर्ने अवस्था छैन। तर मलाई यो कामको वातावरण मनपर्छ। यसले मलाई स्वस्थ पनि राख्छ। म सामान्य जीवन बाँच्न चाहन्छु। पुरस्कारले मेरो स्वभाव कहिल्यै परिवर्तन गर्ने छैन।"

उनको योजना ६० वर्षको उमेरसम्म डेलिभरीको काम निरन्तर गर्ने रहेको छ। वाङको सफलता चीनमा बढ्दै गएको एउटा नयाँ प्रवृत्तिको प्रतीक पनि हो। पछिल्ला केही वर्षयता मजदुर, डेलिभरी राइडर, कुरियर र अन्य श्रमिक वर्गका मानिसहरूले आफ्ना जीवनका कथा साहित्यमार्फत सार्वजनिक गर्न थालेका छन्।

सन् २०२३ मा पूर्व कुरियर हु आनयानको आत्मकथा ‘आई डेलिभर पार्सल्स इन बेइजिङ’ चीनमा बेस्टसेलर बनेको थियो। त्यसको अंग्रेजी अनुवाद पनि प्रकाशित भइसकेको छ। यसअघि सन् २०१७ मा प्रवासी महिला श्रमिक फान युसुको आत्मकथामा आधारित लेख ‘आई एम फ्यान युसु’ ले चिनियाँ इन्टरनेट नै तरंगित बनाएको थियो। त्यसको लोकप्रियता यति धेरै भयो कि उनी केही समय आफ्नै घर छोडेर बस्न बाध्य भएकी थिइन्।

वाङ जिबिङको सफलताले एउटा सन्देश दिएको छ। प्रतिभालाई ठूलो कार्यालय, महँगो टेबल वा प्रसिद्ध नाम चाहिँदैन। कहिलेकाहीँ एउटा डेलिभरी ब्याग बोकेको सामान्य मानिसले पनि संसारलाई छुने शब्द लेख्न सक्छ। र, सायद त्यसैले वाङको कथा आज लाखौँ श्रमिक, संघर्षरत युवा र सपनालाई जीवित राख्न खोजिरहेका मानिसहरूका लागि प्रेरणाको अर्को नाम बनेको छ।


Facebook Comments