घडेरी खन्नै करोड, वातावरणीय बेवास्ताले पहिरोको जोखिममा तीनपाटन गाउँपालिकाको भवन
मेयरसाप डेस्क
|
२०८३ साउन ४ गते २०:२६
सिन्धुली । सिन्धुलीको तीनपाटन गाउँपालिकाको प्रशासनिक भवन यतिबेला ठूलो पहिरोको जोखिममा परेको छ। भवन निर्माणका क्रममा वातावरणीय संवेदनशीलतालाई पूर्ण रूपमा बेवास्ता गर्दा र आर्थिक अनुशासन मिचेर जथाभावी बजेट खर्च गर्दा अहिले करोडौँको सरकारी सम्पत्ति जोखिममा परेको हो।
विशेषतः आर्थिक वर्ष २०७५/०७६ को महालेखा परीक्षकको प्रतिवेदनले त्यही बेला अनियमितता भएकाे र वातावरणीय प्रभावकाे मूल्यांकन नगरिएको औँल्याएका थियो । अनियमितता र चेतावनीलाई बेवास्ता गर्दाको परिणति अहिले पालिका भवन परिसरकाे छेउबाट पहिरो खस्न थालेकाे छ भने पालिकाका कर्मचारीले प्लाष्टिक ओडाएर पहिरोबाट बचाउने प्रयास गरेका छन् ।
खडेरी बनाउँदा विनियोजनभन्दा बढी खर्च र आर्थिक अनुशासनको उडाइएकाे थियो धज्जी
लेखा परीक्षण प्रतिवेदनका अनुसार आर्थिक वर्ष २०७५/०७६ मा गाउँ सभाबाट स्वीकृत बजेटमा घडेरी खन्ने कार्यका लागि रु. ४० लाख र भवन निर्माणका लागि रु. ५० लाख विनियोजन गरिएको थियो। तर, कार्यालयले आर्थिक कार्यविधि नियमावली, २०६४ को नियम ३५ र गाउँ सभाको स्वीकृतिलाई लत्याउँदै घडेरी खन्ने कार्यमा मात्रै रु. ५७ लाख ६१ हजार ४४४ खर्च गरिएको थियो।
भवन निर्माण शीर्षकको बजेटबाट नियमविपरीत रु. १७ लाख ६१ हजार ४४४ रकमान्तर गरी घडेरी खन्नमा मात्रै लगाइएकाे थियो। अझ अचम्मको कुरा त के छ भने, त्यसको अघिल्लो वर्ष पनि सोही घडेरी खन्नका लागि रु. ४० लाख खर्च भइसकेको प्रतिवेदनमा उल्लेख छ। अर्थात्, केवल भवन बनाउने घडेरी सम्याउनका लागि मात्रै दुई वर्षमा करिब रु. ९८ लाख खर्च भएको थियो।
भू-बनोट र वातावरणमाथि खेलबाड
घडेरी खन्ने क्रममा रुख-बिरुवा क्षेत्रको भौगर्भिक र वातावरणीय अध्ययन नै नगरी काम गरिएको प्रतिवेदनले देखाउँछ। रुख-बिरुवा काटिएका भू-भागमा कटान रोक्न वृक्षारोपण तथा बायो-इन्जिनियरिङ (Bio-Engineering) कार्य गरी वातावरणीय सुरक्षा अपनाउनुपर्ने स्पष्ट निर्देशन प्रतिवेदनमा दिइएको थियो।

तर नेतृत्वले न त वातावरणीय पक्षमा ध्यान दियो, न त बायो-इन्जिनियरिङ प्रविधिलाई प्राथमिकतामा राख्यो। रुख कटानीको अभिलेखसमेत नराखी जथाभावी डाँडो काट्दा आज भवनको ठीक मुनिबाट ठूलो पहिरो खस्न सुरु भएको छ। खडेरी खारेकाे उक्त क्षेत्रमा सालका रुख रहेका थिए । तर त्याे विवरण समेत लुकाइएकाे थियो ।
उही नेतृत्व, उही बेवास्ता
विगतमा यी सबै प्रक्रियागत त्रुटि, बजेटको मनपरी रकमान्तर र वातावरणीय लापरवाही हुँदा गाउँपालिकाको नेतृत्वमा कर्णबहादुर थापा नै थिए। संयोग र विडम्बना नै भन्नुपर्छ, अहिले पनि गाउँपालिकाको नेतृत्वमा उनै थापा कायम छन्।
आफ्नै अघिल्लो कार्यकालमा बजेटको नियम मिचेर खनिएको घडेरी र त्यसका कारण सिर्जित वातावरणीय जोखिमबारे महालेखाले सतर्क गराउँदासमेत उनी माैन बसेका थिए। जसको नतिजा— आज करोडौँको लागतमा बनेको रातो भवनलाई जोगाउन प्लाष्टिक टाँगेर बस्नुपर्ने दूरावस्था सिर्जना भएको छ।
घडेरी खन्नै करोड हाराहारी सिध्याउने तर दीर्घकालीन सुरक्षाका लागि बायो-इन्जिनियरिङ र पहिरो नियन्त्रणमा ध्यान नदिने जनप्रतिनिधि र प्राविधिकको अदूरदर्शी नीतिको मूल्य अहिले तीनपाटनवासीले चुकाउनु परिरहेको छ।
Facebook Comments