बाँदर हेर्न २० जनालाई सरकारी जागिर, साढे १२ हजार तलब

यस्ता छन् तोकिएका योग्यता, इच्छुक व्यक्तिले ३ दिनभित्र आवेदन दिन सक्ने

User Image मेयरसाप डेस्क | २०८३ साउन ५ गते ११:२३
Image of https://mayorsap.com/storage/photos/shares/badar1-1200x560.jpg

नेपालका पहाडि जिल्लाहरुमा बाँदरको आतंक यति बढेको छ कि अब सरकारले किसानका बाली जोगाउन कर्मचारी नै नियुक्त गर्नुपर्ने भएको छ । खेतबारीमा पसेर मकै, तरकारी र फलफूल नष्ट गर्ने बाँदरको समस्या नियन्त्रण गर्न डिभिजन वन कार्यालय अर्घाखाँचीले २० जना ‘बाँदर हेराला’ नियुक्त गर्ने निर्णय गरेको छ । बाँदर प्रभावित क्षेत्रमा खटाउनका लागि मासिक १२ हजार ५ सय रुपैयाँ पारिश्रमिकसहित कार्यालयले आवेदन खुला गरेको हो ।

डिभिजन वन कार्यालयले सार्वजनिक सूचना जारी गर्दै जिल्लाका बाँदरबाट अति प्रभावित २६ वटा क्षेत्रमा हेराला नियुक्त गर्न आवेदन आह्वान गरेको छ। यो कार्यक्रम वन संवद्र्धन प्रणालीमा आधारित वन व्यवस्थापन गरिरहेका सामुदायिक वन समूहहरूको लागत साझेदारीमा सञ्चालन गरिने बताइएको छ।
नियुक्त गरिएका हेरालाको मुख्य जिम्मेवारी खेतबारीमा बाँदरको नियमित निगरानी गर्नु, किसानलाई समयमै सूचना दिनु, बालीमा भएको क्षतिको अभिलेख राख्नु तथा कुनै पनि हिंसात्मक उपाय प्रयोग नगरी वातावरणमैत्री ढंगले बाँदरलाई खेतीयोग्य क्षेत्रबाट प्राकृतिक बासस्थानतर्फ फर्काउनु हुनेछ।

वन कार्यालयका अनुसार हेराला बन्न चाहने व्यक्ति सम्बन्धित बाँदर प्रभावित क्षेत्रकै स्थायी बासिन्दा हुनुपर्नेछ। उमेर १८ देखि ४५ वर्षभित्र हुनुपर्ने, वन, वन्यजन्तु तथा जैविक विविधता संरक्षणमा रुचि भएको हुनुपर्ने मापदण्ड तोकिएको छ। सामुदायिक वन, वन हेराला, नर्सरी हेराला वा यस्तै प्रकृतिको कामको अनुभव भएकालाई प्राथमिकता दिइने कार्यालयले जनाएको छ। हेरालाहरू साउन १० गतेदेखि असोज १० गतेसम्म दुई महिनाका लागि खटिनेछन्। उनीहरूले मासिक १२ हजार ५०० रुपैयाँ पारिश्रमिक पाउनेछन्। इच्छुक नागरिकले सूचना प्रकाशित भएको मितिले तीन दिनभित्र आवश्यक कागजातसहित कार्यालयमा निवेदन दिन सक्ने सूचनामा उल्लेख गरिएको छ ।

डिभिजन वन कार्यालयका अनुसार पछिल्ला वर्षहरूमा बाँदरका कारण मकै, तरकारी तथा फलफूल बालीमा ठूलो क्षति हुँदै आएको छ। किसानले महिनौँको मेहनतले लगाएको बाली केही घण्टामै बाँदरले सखाप पार्ने गरेपछि यो योजना अघि सारिएको हो। किसानको मेहनत जोगाउन र मानव–वन्यजन्तु द्वन्द्व कम गर्न सुरु गरिएको यो अभियान प्रभावकारी हुने अपेक्षा गरिएको छ।


Facebook Comments