विश्वकप लगत्तै ब्राजिलका भिनिसियस जुनियरले सर्जरी गरेर फेरे अनुहार, समर्थक पनि झस्किए
पूर्व प्रेमिकाले गराइन सार्वजनिक, आखिर किन फेरे भिनिसियले आफ्नै अनुहार?
मेयरसाप डेस्क
|
२०८३ साउन ८ गते १२:५१
रियल म्याड्रिडका स्टार विंगर भिनिसियस जुनियर फेरि एकपटक चर्चाको केन्द्रमा आएका छन्। तर यसपटक उनको चर्चा गोल, असिस्ट वा ट्रफीका कारण होइन, अनुहारमा आएको ठूलो परिवर्तनका कारण भइरहेको छ। सन् २०२६ को विश्वकपमा देखिएका र अहिलेका भिनिसियसको अनुहारमा व्यापक परिवर्तन देखिएको हो ।
न्यूयोर्क पोस्टले ब्राजिलियन वेबसाइटलाई उद्धृत गर्दै भिनिसियसले आफ्नो चिउँडोको भागमा कस्मेटिक सर्जरी गराएको उल्लेख गरेको छ। रिपोर्टअनुसार उनी ब्राजिलको गोइयानियास्थित एक विशेषज्ञ क्लिनिक पुगेका थिए, जहाँ आधुनिक प्रविधिमार्फत उनको चिउँडोलाई अझ स्पष्ट र आकर्षक बनाइएको छ। विशेष पदार्थको इन्जेक्सन प्रयोग गरेर अनुहारको बनावट परिवर्तन गरिएको हो ।
यो नयाँ लुक्स त्यतिबेला सार्वजनिक भयो, जब उनकी पूर्व प्रेमिका भर्जिनिया फोन्सेकाले जिमभित्र सँगै खिचिएको तस्बिर इन्स्टाग्राममा पोस्ट गरिन्। फोटो सार्वजनिक हुनासाथ भिनिसियसको फेरिएको अनुहार देखेर समर्थकहरु झस्किएका छन् । धेरैले प्लास्टिक सर्जरी गरेको हो ? भन्ने प्रश्न गरेका छन् भने केहीले नयाँ लुक्सको प्रशंसा समेत गरेका छन् ।
उनको यो नयाँ लुक्स विश्वकपबाट ब्राजिल निराशाजनक रूपमा बाहिरिएको केही हप्तापछि सार्वजनिक भएको हो । अन्तिम १६ को खेलमा उदाउँदो टोली नर्वेसँग २–१ ले पराजित भएपछि छैटौँ पटक विश्वकप जित्ने ब्राजिलको सपनामा पूर्णविराम लागेको थियो ।
टोली चाँडै बाहिरिए पनि भिनिसियसले प्रतियोगितामा व्यक्तिगत रूपमा उत्कृष्ट प्रदर्शन गर्दै चार गोल गरेका थिए । देश अचानक प्रतियोगिताबाट बाहिरिएपछि उनले आफ्नो लयलाई कायम राख्दै सर्वाधिक गोलकर्ताको अवार्ड जित्ने मौका गुमाएका थिए, जुन उनको पहुँचमै देखिएको थियो ।
Facebook Comments