सुनसरीमा कर्फ्यु उल्लङ्घन गर्दै तोडफोड र आगजनी, हतियारसहित सेना परिचालन
मेयरसाप डेस्क
|
२०८३ साउन ११ गते १३:१७
सुनसरी । सुनसरीको देवानगञ्ज गाउँपालिका–३, कप्तानगञ्जमा कर्फ्यु आदेश उल्लङ्घन गर्दै प्रदर्शन चर्किएपछि नेपाली सेना परिचालन गरिएको छ। प्रदर्शनकारीले आगजनी र तोडफोड सुरु गरेपछि अवस्था नियन्त्रणमा लिन हतियारसहित सेनाको टोली खटाइएको हो।
सेनाको टोली परिचालन भएपछि कप्तानगञ्जको सुरक्षा अवस्था क्रमशः नियन्त्रणमा आउन थालेको सुनसरी प्रहरी प्रवक्ता डीएसपी चन्द्र खड्काले जानकारी दिएका छन्। खड्काले शान्ति सुरक्षा कायम गर्न सुरक्षाकर्मी परिचालित रहेको र अवस्था सामान्य बनाउने प्रयास भइरहेको जानकारी दिए।
आइतबार राति दुई समूहबीच भएको झडप नियन्त्रण गर्ने क्रममा सुरक्षाकर्मीले चलाएको गोली लागेर देवानगञ्ज–३ का २४ वर्षीय ओमप्रकाश मेहताको मृत्यु भएको थियो। घटनामा गोली लागेर नौ जना सर्वसाधारण घाइते भएका छन्, जसमध्ये एक जनाको अवस्था गम्भीर रहेको जनाइएको छ।
प्रहरीका अनुसार सर्वसाधारण र सुरक्षाकर्मी गरी २२ जनाभन्दा बढी घाइते भएका छन्। घाइतेहरूको विराटनगरस्थित विभिन्न अस्पतालमा उपचार भइरहेको छ।
घटनापछि जिल्ला प्रशासन कार्यालय सुनसरीले सोमबार बिहानदेखि हरिनगरा, भुटाहा, कसनागञ्ज, घुस्की र देवानगञ्ज बजार क्षेत्रलगायत पाँच स्थानमा अनिश्चितकालीन कर्फ्यु आदेश जारी गरेको थियो। तर कर्फ्यु लागू भएलगत्तै विभिन्न स्थानमा प्रदर्शन जारी रहेपछि सुरक्षा व्यवस्था थप कडा पारिएको छ।
Facebook Comments