नेपालको पूर्वाधार क्षेत्रमा ऐतिहासिक उपलब्धि, नागढुङ्गाको जाम अब इतिहासमा मात्र
नेपालकै पहिलो सुरुङमार्ग सञ्चालनमा, कुन–कुन सवारीले पाउनेछन् प्रवेश? कुन सवारीलाई कति लाग्छ शुल्क?
मेयरसाप डेस्क
|
२०८३ साउन ११ गते १३:३४
नेपालको यातायात इतिहासमा आज नयाँ अध्याय थपिएको छ। नागढुङ्गा–सिस्नेखोला सुरुङमार्ग आज औपचारिक रूपमा उद्घाटन भएको छ । यो नेपालकै पहिलो व्यवस्थित सडक सुरुङमार्ग हो, जसले काठमाडौं भित्रिने र बाहिरिने यात्रालाई पूर्ण रूपमा बदल्ने अपेक्षा गरिएको छ।
पूर्वाधार विकासमन्त्री सुनिल लम्साल, काठमाडौंस्थित जापानी राजदूत मायदा तोरु र जाइकाका उच्च अधिकारीहरूको उपस्थितिमा आज बिहान सुरुङमार्ग उद्घाटन गरिएको हो । उद्घाटनसँगै निर्माण कम्पनीले यो परियोजना नेपाल सरकारलाई औपचारिक रूपमा हस्तान्तरण समेत गरेको छ ।
पहिलो चरणमा एम्बुलेन्स, सुरक्षा निकाय र अत्यावश्यक सवारीसाधनलाई मात्रै सुरुङमार्ग प्रयोग गर्न दिइनेछ। केही दिन परीक्षण सफल भएपछि मात्रै अन्य सवारीसाधनका लागि पूर्ण रूपमा खुला गरिनेछ।
तर सुरुङ सबैका लागि भने खुला हुने छैन। पैदलयात्री, मोटरसाइकल, स्कुटर, तीनपाङ्ग्रे तथा पेट्रोल, ग्यास वा अन्य प्रज्ज्वलनशील पदार्थ बोकेका सवारीसाधनलाई सुरुङभित्र प्रवेश निषेध गरिएको छ।
कुल २,६८८ मिटर लामो यो सुरुङमार्ग सञ्चालनमा आएपछि नागढुङ्गाको घुमाउरो बाटो र लामो ट्राफिक जामबाट छुटकारा मिल्नेछ। यात्रुको करिब एक घण्टा समय र इन्धन दुवै बचत हुनेछ।
सुरुङमार्ग प्रयोग गर्ने कार र भ्यानले काठमाडौं भित्रिँदा ६५ र बाहिरिँदा ६० रुपैयाँ तिर्नुपर्नेछ। मिनीबस, ट्रक र टिपरले काठमाडौंतर्फ आउँदा ११५ र बाहिरिँदा ८० रूपैयाँ शुल्क बुझाउनुपर्नेछ। यस्तै, ठूूला बस र ट्रकले काठमाडौं आउँदा २६० र बाहिरिँदा २०० रूपैयाँ शुल्क तिर्नुपर्नेछ।
करिब २७ अर्ब रुपैयाँ लागतमा बनेको यो परियोजनामा जापान सरकारको सहुलियतपूर्ण ऋण र नेपाल सरकारको लगानी रहेको छ। सुरुङभित्र अत्याधुनिक सिसीटिभी, अक्सिजन प्रणाली, दमकल, आकस्मिक उद्दार र आपतकालीन सुरक्षा संयन्त्र जडान गरिएको छ।
Facebook Comments