आसमान गोपाली हत्या प्रकरण: अनुसन्धान तीव्र, ८ जनाविरुद्ध कर्तव्य ज्यान मुद्दा दर्ता

User Image दिक्षान्स खड्का | २०८३ साउन १२ गते १७:०२
Image of https://mayorsap.com/storage/photos/shares/death-case.jpg

हेटौँडा– मकवानपुरको थाहा नगरपालिका–१० निवासी ४१ वर्षीय आसमान गोपालीको हत्या प्रकरणमा जिल्ला प्रहरी कार्यालय मकवानपुरले अनुसन्धानलाई तीव्र बनाएको छ। पक्राउ परेका आठ जनाविरुद्ध कर्तव्य ज्यानसम्बन्धी कसुरमा मुद्दा दर्ता गरी अदालतबाट म्याद थप गरिएको प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी उपरीक्षक (एसपी) श्यामबहादुर खत्रीका अनुसार घटनासँग सम्बन्धित सबै पक्षको बयान, घटनास्थलबाट संकलित प्रमाण, सिसिटिभी फुटेज तथा प्राविधिक विवरणका आधारमा अनुसन्धान अघि बढाइएको छ। अनुसन्धान पूरा नभएसम्म कुनै पनि निष्कर्षमा पुग्न नहुने प्रहरीले जनाएको छ।

घटनापछि मृतकका आफन्तहरू जिल्ला प्रहरी कार्यालय मकवानपुरमा उपस्थित भई दोषीमाथि कडा कानुनी कारबाहीको माग गरिरहेका छन्। प्रहरीले भने अनुसन्धानलाई प्रभावित नगर्ने वातावरण बनाउन सबै पक्षलाई संयमता अपनाउन आग्रह गरेको छ।

प्रहरीका अनुसार अनुसन्धानका क्रममा आवश्यक देखिएका व्यक्तिसँग सोधपुछ भइरहेको छ। घटनामा कसको कस्तो भूमिका रहेको भन्ने विषय प्रमाणका आधारमा मात्रै टुंगो लाग्ने भएकाले अपुष्ट सूचना वा अनुमानका आधारमा कुनै निष्कर्षमा नपुग्न प्रहरीले आग्रह गरेको छ।

आसमान गोपाली साउन १० गते हेटौँडा–११, थानाभर्‍याङस्थित क्षेत्रमा मृत अवस्थामा फेला परेका थिए। घटनाको वास्तविक कारण र संलग्नता पुष्टि गर्न प्रहरीले बहुआयामिक अनुसन्धान जारी राखेको जनाएको छ।


Facebook Comments