एजिनेक्स क्लाउडले ल्यायो ‘भाडासेवा’, डिजिटल बन्यो घरभाडा व्यवस्थापन

User Image मेयरसाप डेस्क | २०८३ साउन १२ गते १७:१६
Image of https://mayorsap.com/storage/photos/shares/bhadasewa.jpg

काठमाडौं । नेपालमा घर, फ्ल्याट, सटर, कार्यालय, अपार्टमेन्ट तथा व्यवसायिक भवनको व्यवस्थापन अझै पनि अधिकांश स्थानमा कागजी अभिलेख, डायरी वा एक्सेल फाइलमै सीमित छ। कतिपयले सामान्य एकाउन्टिङ सफ्टवेयर प्रयोग गरे पनि त्यसले सम्पूर्ण घरभाडा तथा सम्पत्ति व्यवस्थापनलाई डिजिटल बनाउन सकेको छैन। यसका कारण भाडा संकलनमा ढिलाइ, हिसाब–किताबमा त्रुटि, सम्झौता व्यवस्थापनमा जटिलता तथा दैनिक सञ्चालन प्रक्रियामा अनावश्यक झन्झट हुने गरेको छ।

यही समस्यालाई समाधान गर्ने उद्देश्यका साथ एजिनेक्स क्लाउडले नेपाली बजारमा क्लाउडमा–आधारित प्रपर्टी व्यवस्थापन प्रणाली ‘भाडासेवा’ सार्वजनिक गरेको छ। कम्पनीका अनुसार ‘व्यवस्थित र सुमधुर सम्बन्धका लागि भाडासेवा’ भन्ने नारासहित ल्याइएको यो प्रणालीले घरधनी, भाडावाला तथा व्यवसायिक सम्पत्ति व्यवस्थापनलाई एउटै डिजिटल प्लेटफर्ममा जोड्ने लक्ष्य राखेको छ।

कम्पनीका अनुसार ‘भाडासेवा’ साना घरधनीदेखि ठूला अपार्टमेन्ट, सपिङ मल, व्यवसायिक कम्प्लेक्स, बजार तथा प्रपर्टी व्यवस्थापन कम्पनीसम्मका लागि उपयोगी हुने गरी विकास गरिएको हो। यसमार्फत भवन, ब्लक, तला तथा प्रत्येक युनिटको डिजिटल अभिलेख राख्न, कुन युनिट खाली छ वा भाडामा छ भन्ने जानकारी रियल–टाइममा हेर्न, सम्झौताको अवधि व्यवस्थापन गर्न तथा आम्दानीको अवस्था अनुगमन गर्न सकिने सुविधा उपलब्ध हुनेछ। साथै प्रत्येक भाडावालाको डिजिटल प्रोफाइल, प्रवेश तथा बहिर्गमन विवरण, सम्पर्क, सम्झौताको अवधिलगायत सम्पूर्ण इतिहास सुरक्षित रूपमा राख्न सकिने कम्पनीले जनाएको छ।

‘भाडासेवा’मा डिजिटल सम्झौता तयार गर्ने, पठाउने, डिजिटल हस्ताक्षर गर्ने तथा सुरक्षित रूपमा अभिलेख राख्ने सुविधा पनि समावेश गरिएको छ। मासिक भाडाको बिल स्वचालित रूपमा तयार हुने, डिजिटल भुक्तानी गर्न सकिने, भुक्तानीको अवस्था ट्र्याक गर्न सकिने तथा रसिद स्वतः उपलब्ध हुने व्यवस्था गरिएको कम्पनीको दाबी छ। त्यस्तै बिजुली, पानीलगायत युटिलिटी सेवाको मिटर रिडिङ, बिल गणना तथा एकीकृत बिलिङ गर्न सकिने सुविधा पनि प्रणालीमा समावेश गरिएको छ।

कम्पनीका अनुसार अपार्टमेन्ट तथा व्यवसायिक भवनका साझा क्षेत्रको सञ्चालन तथा मर्मत खर्चको हिसाब राख्ने, मर्मतसम्भारसम्बन्धी अनुरोध व्यवस्थापन गर्ने, जिम्मेवारी तोक्ने, कार्य प्रगति अनुगमन गर्ने तथा सम्पन्न भएका कामको अभिलेख राख्ने सुविधा पनि प्रणालीमा उपलब्ध छ। यसका साथै आम्दानी, खर्च, भाडा संकलन, युनिटको अवस्था तथा वित्तीय विश्लेषणसम्बन्धी विस्तृत प्रतिवेदन तयार गर्न सकिने भएकाले व्यवस्थापनलाई तथ्यमा आधारित निर्णय लिन सहज हुने कम्पनीको भनाइ छ।

भाडा तिर्ने मिति, सम्झौता नवीकरण, बिल जारी वा मर्मतसम्भारसम्बन्धी सूचना पुस नोटिफिकेसन, एसएमएस, इमेल तथा इन–एप नोटिफिकेसनमार्फत सम्बन्धित व्यक्तिसम्म पुग्ने व्यवस्था गरिएको कम्पनीले जनाएको छ। कम्प्युटर, ट्याबलेट र मोबाइलबाट सञ्चालन गर्न सकिने यो प्रणालीमा डेटा इन्क्रिप्सन र नियमित ब्याकअपको सुविधा पनि उपलब्ध गराइएको छ, जसले विवरण सुरक्षित राख्न मद्दत गर्ने कम्पनीको विश्वास छ।

एजिनेक्स क्लाउडका अनुसार ‘भाडासेवा’ केवल एउटा सफ्टवेयर नभई नेपालमा घरभाडा तथा व्यवसायिक सम्पत्ति व्यवस्थापनलाई डिजिटल, पारदर्शी, सुरक्षित र आधुनिक बनाउने अभियान पनि हाे। समय, लागत र श्रम बचत गर्दै सम्पूर्ण व्यवस्थापनलाई एउटै प्लेटफर्ममा ल्याउने उद्देश्यका साथ विकास गरिएको यो प्रणालीले नेपालमा प्रपर्टी व्यवस्थापनको अभ्यासलाई थप व्यवस्थित र प्रविधिमैत्री बनाउने कम्पनीकाे दाबी छ ।


Facebook Comments