संविधान दिवस २०८१: समारोह स्थल व्यवस्थापनमा काठमाडौँ महानगरपालिकाको सक्रियता
No Author Assigned | १० महिना अगाडि
संविधान दिवस तथा राष्ट्रिय दिवस, २०८१ का अवसरमा आयोजना हुने मूल समारोह स्थलको व्यवस्थापनमा काठमाडौँ महानगरपालिकाले सरसफाइदेखि सजावटसम्मका जिम्मेवारी लिने भएको छ। आज काठमाडौँ महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत एवं मञ्च सजावट तथा व्यवस्थापन उपसमितिका संयोजक प्रदीप परियारको अध्यक्षतामा बसेको बैठकले मूल समारोह व्यवस्थापनका लागि आवश्यक तयारीबारे छलफल गर्दै निर्णय गरेको हो।
महानगरपालिकाले समारोह स्थलमा ७ सय वटा कुर्सी, साउण्ड सिस्टम, र पिउने पानीको व्यवस्था गर्नेछ। साथै, शान्तिका प्रतीकस्वरूप ७ जोडी परेवाहरू उडाइनेछ र मञ्चमा ‘संविधान दिवस २०८१’ लेखिएका १७ मिटर लम्बाइका २ थान व्यानर राखिनेछन्। मञ्चको सजावट पनि महानगरपालिकाले गर्नेछ।
स्वास्थ्य सेवाका लागि आकस्मिक र प्राथमिक उपचारका लागि स्वास्थ्यकर्मी सहितको एम्बुलेन्स, तथा दमकल पनि तैनाथ गरिनेछ। साथै, काठमाडौँ, ललितपुर, र भक्तपुर महानगरपालिकाले समारोहमा सांस्कृतिक झाँकी प्रदर्शन गर्नेछन्।
बैठकमा काठमाडौँ जिल्लाका सहायक प्रमुख जिल्ला अधिकारी माधवप्रसाद ढुङ्गाना, जङ्गी अड्डा, समारोह सञ्चालन निर्देशनालयका प्रमुख सेनानी महेन्द्र पुन, र काठमाडौँ उपत्यका प्रहरी कार्यालयका प्रहरी उपरीक्षक सन्तोष आचार्य लगायतका अधिकारीहरूको उपस्थिति रहेको थियो।