इलामका दुई नगरपालिकामा अनलाइनबाट नागरिकता सिफारिस सेवा सुरु
इलाम नगरपालिका र सूर्योदय नगरपालिकामा अनलाइन प्रणालीमार्फत नागरिकताको सिफारिस सेवा थालिएको छ।
Mayorsap
बिही, असोज १०, २०८१ | ११:०७ बजे
इलाम । इलाम नगरपालिका र सूर्योदय नगरपालिकामा अनलाइन प्रणालीमार्फत नागरिकताको सिफारिस सेवा थालिएको छ। अब यी नगरपालिकाका १२ र १४ वडाहरूमा नागरिकता सिफारिसका लागि आवेदकहरूले अनलाइनमार्फत आवेदन दिन सक्ने भएका छन्।
प्रमुख जिल्ला अधिकारी कल्पना श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममार्फत अनलाइन सेवा सञ्चालनमा आएको हो। इलाम नगरपालिकाको वडा नम्बर ४ र सूर्योदय नगरपालिकाको वडा नम्बर २ बाट अनलाइन सिफारिस सेवा सुरु गरिएको छ।
इलाम नगरपालिकाका प्रवक्ता नुतनदेव दुलालका अनुसार सेवाग्राहीले आवश्यक कागजातसहित वडा कार्यालयमा गएर आवेदन दिनसक्नेछन्, र वडा कार्यालयले फारम भरेर जिल्ला प्रशासन कार्यालयको अनलाइन प्रणालीमा अपलोड गर्नेछन्। सेवाग्राहीले अब नागरिकता लिन जिल्ला प्रशासन कार्यालयमा सनाखत गर्ने व्यक्तिमात्र लिएर जानुपर्छ।
यस सेवाले दोहोरो नागरिकता र किर्ते नागरिकताको समस्यालाई अन्त्य गर्ने अपेक्षा गरिएको छ। गृहमन्त्रालयको शून्य कागज नीति अनुरूप इलाममा यो प्रणाली लागू भएको हो, र नगरपालिकाले सबै वडा सचिवहरूलाई अनलाइन सेवासम्बन्धी प्रशिक्षण पनि दिएको छ।