स्थानीय तह उपनिर्वाचनका लागि राजनीतिक दल दर्ता सुरु

निर्वाचन आयोगका अनुसार, उपनिर्वाचनमा भाग लिन इच्छुक राजनीतिक दलहरूले असोज १० देखि १६ गतेसम्म आयोगमा दर्ता गर्नुपर्नेछ।

No Author Assigned | २०८१ असोज १० गते ०७:०२
Image of storage/news/1727334175.png

काठमाडौँ । आगामी मंसिर १६ गते हुने स्थानीय तहको उपनिर्वाचनका लागि बिहीबारदेखि राजनीतिक दल दर्ता कार्यक्रम सुरु भएको छ। निर्वाचन आयोगका अनुसार, उपनिर्वाचनमा भाग लिन इच्छुक राजनीतिक दलहरूले असोज १० देखि १६ गतेसम्म आयोगमा दर्ता गर्नुपर्नेछ।

 

निर्वाचन आयोगले बुधबार एक सूचना जारी गर्दै उपनिर्वाचनमा सहभागी हुन चाहने राजनीतिक दलहरूलाई निर्धारित समयमा दर्ता गर्न आह्वान गरेको थियो। राजनीतिक दलहरूले दर्ताका लागि निवेदन दिने क्रममा राजनीतिक दल सम्बन्धी नियमावली, २०७४ को अनुसूची १२ अनुसार आयोगमा निवेदन दिनुपर्नेछ।

 

आयोगले यसअघि नै दर्ता भएका ११९ वटा राजनीतिक दलहरू मात्र उपनिर्वाचनमा भाग लिन योग्य हुने बताएको छ। यद्यपि, ती दलहरूले पनि पुनः दर्ता प्रक्रिया पूरा गर्नुपर्नेछ।

 

सरकारले स्थानीय तहमा रिक्त रहेका ४१ पदहरूका लागि मंसिर १६ गते उपनिर्वाचन गर्ने घोषणा गरेको छ। यसमा २ जिल्ला समन्वय समितिका प्रमुख, ३ नगरपालिका प्रमुख/गाउँपालिका अध्यक्ष, ५ नगरपालिका उपप्रमुख/गाउँपालिका उपाध्यक्ष, र ३१ वडा अध्यक्ष पदहरू समावेश छन्।


Facebook Comments