देशभरका स्वास्थ्य स्वयंसेविकालाई सार्वजनिक यातायात निःशुल्क प्रयाेग गर्ने व्यवस्था मिलाउन सबै स्थानीय तहलाई निर्देशन
Mayorsap
शुक्र, कार्तिक ९, २०८१ | १४:०७ बजे
काठमाडौँ । महिला सामुदायिक स्वास्थ्य स्वयंसेविकालाई सार्वजनिक यातायातमा निःशुल्क यातायात सेवा प्रदान गर्ने निर्णय कार्यान्वयन गर्न देशभरका सबै स्थानीय तहलाई निर्देशन दिइएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको पत्राचारअनुसार संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सबै ७५३ वटै स्थानीय तहलाई पत्र पठाएर महिला सामुदायिक स्वास्थ्य स्वयंसेविकालाई काम गर्ने शिलशिलामा निःशुल्क यातायात सेवा प्रदान गर्ने निर्णय कार्यान्वयनमा समन्वय गर्न निर्देशन दिइएको हो ।
‘यही मिति २०८१/०७/०२ गते स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका मन्त्री माननीय प्रदीप पौडेलको समुपस्थितिमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका प्रतिनिधिहरु सहितको बैठकले नेपालभर कार्यरत महिला सामुदायिक स्वास्थ्य स्वयंसेविकाहरुलाई २०८१/०७/१५ देखि लागु हुने गरी कार्यक्षेत्र रहेको जिल्लाभर सरकारले खटाएको कामकाज गर्ने शिलशिलामा सार्वजनिक यातायातमा निशुल्क यातायात सेवा प्रदान गर्ने निर्णय भएकाले सो निर्णय कार्यान्वयन गर्न सबै स्थानीय तहहरुलाई पत्राचार गरी समन्वय गरिदिनहुन यस मन्त्रालय । सचिवस्तर) को निर्णयानुसार अनुरोध छ,’ स्वास्थ्य मन्त्रालयले संघीय मामिलालाई लेखेको पत्रमा उल्लेख छ ।
सोही पत्रका आधारमा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले देशभरका सबै स्थानीय तहलाई पत्र पठाएर सो निर्णय कार्यान्वयनमा सहयोग गर्न निर्देशन दिएको हो ।