ललितपुरमा सौर्य ऊर्जाबाट सञ्चालित सामुदायिक स्नानघर
Mayorsap
शुक्र, कार्तिक ९, २०८१ | २३:१६ बजे
काठमाडौँ ९ कात्तिक : चीनको युन्नान प्रान्तले नेपालको ललितपुर महानगरपालिकालाई सार्वजनिक कल्याणकारी परियोजना हस्तान्तरण गरेको छ । यसमा सङ्घीय राजधानीमा पहिलो ‘युनिक्सोलार शावर स्टेसन’ नामक सौर्य ऊर्जाबाट सञ्चालित सामुदायिक स्नानघर र छत फोटोभोल्टाइक परियोजना समावेश छ ।
आज ललितपुरमा आयोजित एक कार्यक्रममा चीनको युन्नान प्रान्तीय व्यापारिक प्रतिनिधिमण्डलले महानगरपालिकाको वडा नं ३ लाई परियोजनाहरू हस्तान्तरण गरेको हो ।
युनिक्सोलार शावर स्टेसनमा सौर्य ऊर्जाबाट उत्पादित चार हजार लिटर तातो पानीको सुविधासहित निर्मित महिला र पुरुषका लागि तीन÷तीन गरी छवटा स्नान कक्ष रहेका छन् । यो सामुदायिक स्नानघरले दैनिक कम्तीमा ८० देखि एक सय जनालाई स्नान गर्ने सुविधा प्रदान गर्ने दाबी गरिएको छ ।
यसका साथै, ‘रुफ फोटोभोल्टाइक’ परियोजनामा ३६ किलोवाट क्षमताको सोलार जडान गरिएको छ जसले वार्षिक लगभग ६० हजार किलोवाट घण्टा बिजुली उत्पादन गर्ने र समुदायलाई लामो समयसम्म हरित तथा निःशुल्क ऊर्जा प्रदान गर्ने आयोजकले जनाएको छ ।
कार्यक्रममा ललितपुर महानगरपालिका प्रमुख चिरिबाबु महर्जनले ललितपुरलाई सहयोग गरेकामा चिनियाँ पक्षप्रति आभार व्यक्त गर्नुभयो । उहाँले परियोजनालाई उत्कृष्ट अत्याधुनिक सुविधा भनेर वर्णन गर्नुहुँदै यसले स्थानीय बासिन्दालाई ठूलो फाइदा पु¥याउने विश्वास व्यक्त गर्नुभयो ।
त्यस अवसरमा नेपालका लागि चिनियाँ राजदूत चेन सङले चिनियाँ विकास मोडेलमा आधारित यो परियोजना नेपाली जनताका लागि ठूलो महत्वको हुने बताउनुभयो । उहाँले चिनियाँ पक्ष नेपालका दुर्गम क्षेत्रहरूमा कृषि, सौर्य ऊर्जा, विद्यालय सहयोग कार्यक्रमलगायत विभिन्न परियोजनाहरूमा सङ्लग्न रहेको उल्लेख गर्नुुभयो ।
काठमाडौँस्थित युन्नान प्रान्तीय व्यापारिक प्रतिनिधिमण्डलका निर्देशक याङ चेनफेङले यसअघि नेपालमा नौवटा जीविकोपार्जन परियोजनाहरू कार्यान्वयन गरिसकेको जानकारी दिनुभयो । उहाँले यी दुई परियोजनाहरूले स्थानीय बासिन्दाहरूको जीवनस्तर सुधार गर्ने र सहरको गुणस्तरमा टेवा पुग्ने विश्वास व्यक्त गर्नुभयो ।
कार्यक्रममा महानगरको वडा नं ३ का अध्यक्ष श्रीगोपाल महर्जनले यस परियोजनाले चिनियाँ विकासलाई प्रतिविम्बित गर्ने र अन्य स्थानहरूमा यस्तै अभ्यासहरू लागू गर्न नेपालका लागि ठूलो सिकाइ हुनसक्ने बताउनुभयो ।