गाउँमै निःशुल्क स्वास्थ्य सेवा पाउँदा स्थानीय खुसी
शुक्रबार राप्तीसोनारी गाउँपालिका वडा नम्बर ७ स्थित फत्तेपुर स्वास्थ्य चौकीमा पुगेर असल छिमेकी स्वास्थ्य केन्द्रले नाक,कान तथा घाँटी रोगको निःशुल्क रुपमा स्वास्थ्य जाँच गर्नुका साथै औषधी समेत निःशुल्क वितरण गरेको हो । नाक,कान तथा घाँटी रोग विशेषज्ञ डा. प्रकाश बसेलले स्वास्थ्य केन्द्रले आयोजना गरेको निःशुल्क स्वास्थ्य शिविरमा ७५ जना स्थानीय नागरिकको स्वास्थ्य चेकजाँच गरिएको जानकारी दिए । उनले शिविरमा जाँच गराउन आएकामध्ये धेरैजसोमा कानको समस्या पाइएको बताए ।
Mayorsap,विवेक मण्डल
शनि, कार्तिक १०, २०८१ | १३:५६ बजे
काठमाडौँ
कार्तिक १० गते,
राप्तीसोनारी गाउँपालिका –७ का स्थानीय सर्वसाधारण गाउँमै निःशुल्क रुपमा स्वास्थ्य सेवा पाउँदा खुसी भएका छन् । नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर १० स्थित असल छिमेकी सामुदायिक स्वास्थ्य केन्द्रले शुक्रबार गाउँमै पुगेर निःशुल्क रुपमा स्वास्थ्य सेवा प्रदान गरेपछि त्यहाँका स्थानीय सर्वसाधारण खुसी भएका हुन् ।
शुक्रबार राप्तीसोनारी गाउँपालिका वडा नम्बर ७ स्थित फत्तेपुर स्वास्थ्य चौकीमा पुगेर असल छिमेकी स्वास्थ्य केन्द्रले नाक,कान तथा घाँटी रोगको निःशुल्क रुपमा स्वास्थ्य जाँच गर्नुका साथै औषधी समेत निःशुल्क वितरण गरेको हो ।
नाक,कान तथा घाँटी रोग विशेषज्ञ डा. प्रकाश बसेलले स्वास्थ्य केन्द्रले आयोजना गरेको निःशुल्क स्वास्थ्य शिविरमा ७५ जना स्थानीय नागरिकको स्वास्थ्य चेकजाँच गरिएको जानकारी दिए । उनले शिविरमा जाँच गराउन आएकामध्ये धेरैजसोमा कानको समस्या पाइएको बताए ।
“७५ जनामध्ये ५५ प्रतिशत जति कानसम्बन्धी रोगी हुनुहुन्थ्यो,त्यसमा पनि ३० जना जतिको कानको जालीमा प्वाल परेर शल्यक्रिया गर्नुपर्ने देखियो” डा. बसेलले भने, “२० प्रतिशत घाँटीसम्बन्धी र १५ प्रतिशत नाकसम्बन्धी रोगका बिरामी थिए,बाँकी ५ प्रतिशत नागरिक अन्य रोग जाँच गराउन आएका थिए ।”
स्वास्थ्य शिविरमा निःशुल्क रुपमा सर्वसाधारणको स्वास्थ्य जाँच गरिनुका साथै आवश्यक औषधी समेत निःशुल्क रुपमै वितरण गरिएको स्वास्थ्य केन्द्रले जनाएको छ । केन्द्रका अनुसार शिविरमा फेला परेका शल्यक्रिया गर्नुपर्ने बिरामीलाई न्यूनतम शुल्कमै स्वास्थ्य सेवा प्रदान गरिनेछ ।
राप्तीसोनारी गाउँपालिका –७ को कार्यालयको समन्वयमा असल छिमेकी सामुदायिक स्वास्थ्य केन्द्र नेपालगञ्जको आयोजनामा गाउँमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेर नागरिकलाई स्वास्थ्य सेवा प्रदान गरिएको वडाअध्यक्ष रामलखन थारुले बताए ।
“वडाभित्रका नागरिकको स्वास्थ्यप्रति हामी सचेत र गम्भीर छौं, त्यो हाम्रो दायित्व पनि हो,समय–समयमा विभिन्न अस्पताल तथा स्वास्थ्य संस्थासँगको समन्वयमा वडामा विभिन्न किसिमका रोगसम्बन्धी निःशुल्क स्वास्थ्य सेवा प्रदान गर्दैआएका छौं” अध्यक्ष थारुले भने ।