मेयरसाप

बजेट

विद्यालय

आन्दोलन

राजनीतिक दल

कीर्तिपुर मेयरका प्रत्यासी केशव श्रेष्ठ भन्छन्– पाटनमा बेचेको खानेपानी कीर्तिपुरबासीको धारामा झार्छु !

आरसी

मंगल, मंसिर ४, २०८१ | १५:२९ बजे

कीर्तिपुर । मंसिर १६ गते हुने स्थानीय तहको उपनिर्वाचनको चर्चा कीर्तिपुरमा ह्वात्तै बढेको छ । कीर्तिपुरको मेयर पदका लागि २० जना मेयरका प्रत्यासी चुनावी मैदानमा होमिएका छन् । २० जनामध्ये ११ जना स्वतन्त्र उम्मेदवार छन् भने अरु विभिन्न पार्टीबाट उम्मेदवार बनेका छन् ।
 

मधेश प्रदेशमा उदाएको जनमत पार्टीले पनि यसपटकको कीर्तिपुरको उपनिर्वाचनमा उम्मेदवार उठाएको छ । जनमतबाट कीर्तिपुर नगरपालिकाको मेयरमा केशव श्रेष्ठले उम्मेदवारी दिएका छन् । श्रेष्ठ सामान्य व्यवसायी हुन् । एसएलसीसम्मको अध्ययन गरेका श्रेष्ठ कीर्तिपुरमा यसअघि राजनीतिक यात्रामा कतै नदेखिएका अनुहार हुन् ।
 

कीर्तिपुरमा खानेपानीको समस्या अहिलेसम्म निर्वाचित कुनै पनि जनप्रतिनिधिले समाधान नगरेपछि आफैँ मेयर पदमा उम्मेदवारी दिन केशव कस्सिएका हुन् । ‘कीर्तिपुरबासीलाई खानेपानीको जहिले पनि अभाव रहन्छ । यहाँको पानी पाटनमा बेचिएको छ । यहाँ मेलम्चीको पानी आउँदा खान पाइएको हाे । नत्र पानीको हाहाकार हुन्छ । आफ्नै ठाउँको पानी अन्त बेचेर कीर्तिपुरबासीलाई ‘काकाकूल’ बनाउने यहाँका जनप्रतिनिधिहरुले कीर्तिपुरको संरक्षण नगर्ने भएर आफैँ चुनावी मैदानमा होमिएको हुँ’, मेयरका प्रत्यासी केशव श्रेष्ठले भने, ‘म मेयरमा निर्वाचित भएपछि यहाँका जनतालाई घरघरमै कीर्तिपुरकै पानी खुवाउँछु ।’
 

केशव श्रेष्ठले स्वास्थ्यमा पनि सुधार ल्याउने उद्घोष गरेका छन् । उनले कीर्तिपुर अस्पतालमा अन्य स्थानबाट उपचार गर्न आउने नागरिकका लागि पनि छुटको व्यवस्था गर्ने योजना सुनाएका छन् । सडक व्यवस्थापन, मठमन्दिर व्यवस्थापन केशवका अन्य मुद्दाहरु हुन् । उनले बालश्रमलाई अन्त्य गर्ने घोषणा गरेका छन् । 

 

युवालाई निःशुल्क सीप सिकाउने, पर्यटन प्रवद्धन गर्न योजनाहरु ल्याउने उनका थप चुनावी प्रतिवद्धता छन् । केशवले कंक्रीटले भरिएको कीर्तिपुरमा वृक्षारोपण गरेर हरियाली फर्काउने नयाँ योजना पनि मतदातामाझ सुनाइरहेका छन् । अहिले चुनावी मैदानमा होमिएका केशव आफूले मेयरमा जित्ने ढुक्क रहेको बताउँछन् । 
 

मेयरमा केशव श्रेष्ठका प्रतिस्पर्धीमा कांग्रेसबाट कृष्णमान डंगोल, नेकपा एकीकृत समाजवादीबाट भानु रिजाल, नेकपा माओवादी केन्द्रबाट शिवशरण महर्जनले उम्मेदवारी दिएका छन् ।
 

जनता समाजवादी पार्टी नेपालबाट दिपक महर्जन, राप्रपाबाट धुर्ब महर्जन,  नेकपा एमालेबाट सुरेन्द्र मानन्धर, नेमकिपाबाट श्रीकृष्ण महर्जन र नेपाल समाजवादी पार्टीबाट दिलकुमार महर्जन पनि उम्मेदवार बनेका छन् । रास्वपाले भने कीर्तिपुर मेयर पदमा उम्मेदवार उठाएको छैन ।
 

कीर्तिपुरमा राजनीतिक दलभन्दा पनि स्वतन्त्र उम्मेदवार बढी छन् । स्वतन्त्र उम्मेदवार दिनेमा आनन्द महर्जन, नरेशराज पाण्डे, कविकुमार महर्जन, धर्मरत्न मानन्धर, नरेश श्रेष्ठ, दिनेशकुमार अधिकारी, प्रेमबहादुर महर्जन, मिम महर्जन, रामकृष्ण महर्जन, राजमान महर्जन, नवरथकुमार बानियाँ रहेका छन् ।
 

गत स्थानीय तह निर्वाचनमा नेपाली कांग्रेसबाट राजकुमार नकर्मी निर्वाचित भएका थिए । नकर्मीको निधन भएपछि हुन लागेको उपनिर्वाचनमा २० जना उम्मेदवार मेयरको प्रत्यासी बनेका हुन् ।
 

तपाईंको प्रतिक्रिया

सम्बन्धित खबर

ट्रेन्डिङ

ताजा अपडेट

सूचना, सचेतना, सहकार्य !

 

थप जानकारी

सूचना विभाग दर्ता न.: 4705-2081/2082

प्रेस काउन्सिल नेपाल सूचीकरण न.:-४६९९-२०८१/०८२  

अध्यक्ष : Pradip Khadka

डेस्क इडिटर: 

समाचार

महत्वपूर्ण लिंक

सम्पर्क

© 2024 mayorsap.com | सर्वाधिकार सुरक्षित

Developed with ❤️ by Clock b Business Technology