Ad Image

उपनिर्वाचन : ३१ जनाको उम्मेदवारी फिर्ता, ३७६ उम्मेदवारलाई निर्वाचन चिन्ह प्रदान

User Image Mayorsap | ६ महिना अगाडि
Image of storage/news/1732166878.jpg

काठमाडौं : आउँदाे मंसिर १६ गते हुने उप-निर्वाचनमा ३ सय ७६ जना उम्मेदवारबीच प्रतिस्पर्धा हुँदैछ। निर्वाचन आयोगले बुधबार प्रकाशित गरेको उम्मेदवारको अन्तिम नामावली सूचीअनुसार मेयर, उपमेयर, पालिका अध्यक्ष तथा उपाध्यक्ष र वडा अध्यक्षसहित ४१ पदका लागि मंसिर १६ मा मतदान हुँदैछ ।

जिल्ला समन्वय समिति प्रमुख, नगर प्रमुख र उपप्रमुख, गाउँपालिका अध्यक्ष र उपाध्यक्ष तथा वडा अध्यक्षको रिक्त ४४ पदमध्ये दुई जिल्ला समन्वय समिति प्रमुख र एक वडा अध्यक्ष निर्विराेध भएसँगै ४१ पदमा उम्मेदवारबीच प्रतिस्पर्धा हुन लागेकाे हाे । जिल्ला समन्वय समिति ओखलढुंगामा नेपाली कांग्रेसका उम्मेदवार टेकराज भट्टराई र जिल्ला समन्वय समिति कैलालीको प्रमुखमा टीकाकुमारी चौधरी (भुल) निर्विरोध निर्वाचित भएको आयोगले जनाएको छ।

आयोगका अनुसार रूकुम पूर्वको पुथाउत्तरगंगा गाउँपालिका वडा नम्बर २ को वडा अध्यक्षमा नेकपा (माओवादी केन्द्र) का उम्मदेवार जगत घर्ती निर्विरोध निर्वाचित भएका छन्।

चुनावी प्रतिस्पर्धाकाे क्रममा मंसिर २ गते उम्मेदवारको मनोनयन दर्ता गराउने क्रममा ४ सय १० जनाले उम्मेदवारी दर्ता गराएका थिए। त्यसमा राजनीतिक दलबाट २ सय ८९ र स्वतन्त्रबाट १ सय २१ जना गरेर ४ सय १० जनाको उम्मेदवारी दर्ता भएको थियो।

३१ जनाले उम्मेदवारी फिर्ता लिएपछि ३ सय ७६ जनाबीच प्रतिस्पर्धा हुन लागिएको आयोगले जनाएको छ । ४१ स्थानमा विभिन्न पदमा २० राजनीतिक दल र स्वतन्त्र उम्मेदवार गरेर ३ सय ७६ जना उम्मेदवारलाई हिजाे बुधबार सम्बन्धित मुख्य निर्वाचन अधिकृत तथा निर्वाचन अधिकृतको कार्यालयले निर्वाचन चिह्न पनि प्रदान गरेको छ।

स्थानीय तहको उपनिर्वाचनका लागि दर्ता भएका २५ राजनीतिक दलमध्ये हाम्रो नेपाल पार्टी, नेपाल कम्युनिस्ट पार्टी (माले), नेपाली कांग्रेस (बीपी), नेपाली जनता दल र आम जनता पार्टीसहित ५ वटा राजनीतिक दलले कुनै पनि रिक्त पदका लागि उम्मेदवारी दर्ता गरेनन्।

निर्वाचन कार्यक्रमअनुसार मंसिर ६ अर्थात् बिहीबारदेखि मंसिर १३ गते राति १२ बजेसम्म उम्मेदवारले प्रचारप्रसार गर्न पाउनेछन् । मंसिर १३ गते राति १२ बजेदेखि मतदान सम्पन्न नभएसम्म निर्वाचन प्रचारप्रसार निषेध अवधि तोकिएको छ।

निर्वाचन आयोगबाट निर्वाचन आचारसंहिता मंसिर २ गतेदेखि जारी भइसकेकाले उक्त आचारसंहितको अक्षरशः पालना गरी निर्वाचन प्रचारप्रसारको कार्य गर्न/गराउन सम्बन्धित सबै राजनीतिक दल, उम्मेदवार तथा निर्वाचन सरोकारवालालाई आयोगले अनुरोध गरेको छ।

साथै आयोगले मंसिर १६ गते सम्बन्धित मतदान केन्द्रमा पुगेर आफ्नो मतधिकार प्रयोग गर्न पनि सबैलाई आग्रह गरेको छ।