बालेनको प्रस्ताव अस्वीकार गर्दै धरहरा सञ्चालनको जिम्मा निजीलाई
सहरी विकास मन्त्रालयले टेन्डरबाट कुनै निजी कम्पनीलाई दिने गरी धरहरा सञ्चालन र व्यवस्थापनसम्बन्धी कार्यविधिको मस्यौदा बनाइसकेको छ ।।
Mayorsap,विवेक मण्डल
शुक्र, कार्तिक १६, २०८१ | १२:१९ बजे
काठमाडौं
कार्तिक १६ गते,
धरहरा सञ्चालन र व्यवस्थापनको जिम्मा अब काठमाडौं महानगरपालिकाले नपाउने भएको छ ।
संघीय सरकारले टेन्डरमार्फत निजी कम्पनीलाई दिने भएपछि महानगरपालिकाले सञ्चालन र व्यवस्थापनको जिम्मा नपाउने भएको हो । सहरी विकास मन्त्रालयले टेन्डरबाट कुनै निजी कम्पनीलाई दिने गरी धरहरा सञ्चालन र व्यवस्थापनसम्बन्धी कार्यविधिको मस्यौदा बनाइसकेको छ ।
उक्त मस्यौदा मन्त्रिपरिषद्मा लगिएको मन्त्रालयका सचिव मनिराम गेलालले जानकारी गराए । उनका अनुसार मस्यौदामा धरहराको जिम्मा मन्त्रालयमातहतको नयाँ बानेश्वरस्थित अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रले लिने व्यवस्था गरिएको छ ।
अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रले टेन्डर आह्वान गरी २० या २५ वर्षका लागि धरहरा सञ्चालन र व्यवस्थापनको जिम्मा कुनै निजी कम्पनीलाई दिनेछ ।
धरहरा सञ्चालन हुनुअघि नै यसको सञ्चालन र व्यवस्थापनको जिम्मा लिन काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र (बालेन) साहले चासो राख्दै आएका छन् ।
धरहराको व्यवस्थापनको जिम्मा लिन महानगरले सरकारसँग पटकपटक आग्रह गरेको थियो । धरहरा सञ्चालन हुनुअघि नै महानगरले धरहराको बेसमेन्टमा निःशुल्क पार्किङ समेत घोषणा गरेको थियो ।
यही विषयमा महानगर र मन्त्रालयबिच विवाद चर्किएको थियो । धरहरा काठमाडौं महानगरभित्र पर्ने भएकाले यसको सञ्चालन र व्यवस्थापनको जिम्मा स्थानीय सरकारलाई दिनुपर्ने महानगरको भनाइ छ ।
संविधान दिवसको दिन पारेर गत असोज ३ बाट सर्वसाधारणलाई निःशुल्क चढ्न पाउने गरी धरहरा खुलाइएको छ । अहिले यसको सञ्चालन र व्यवस्थापन मन्त्रालयमातहतको केन्द्रीय आयोजना कार्यान्वयन एकाइले गर्दै आएको छ ।
एकाइ प्रमुख प्रकाश अर्यालका अनुसार अहिले दिनमा दुई हजार देखि २२ सय व्यक्तिले धरहरा चढ्ने गरेका छन् । २०७२ सालको भूकम्पबाट भत्किएपछि ‘मेरो धरहरा मै बनाउँछु’ भन्ने नारासहित २०७५ पुस १२ गते तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले यसको शिलान्यास गरेका थिए ।
धरहरा निर्माण गर्न जिआइटिसी रमन कन्स्ट्रक्सन जोइन्ट भेन्चर कम्पनीलले ठेक्का पाएको थियो ।
धरहराको उद्घाटन प्रधानमन्त्री ओलीले तीन वर्षअघि अघिल्लो कार्यकालमै गरेका थिए । निर्माणको काम नसकिँदै ओलीले २०७८ वैशाख ११ गते हतारहतार धरहराको उद्घाटन गरेका थिए ।