मेयरसाप

बजेट

विद्यालय

आन्दोलन

राजनीतिक दल

बेमौसमी वर्षाले भित्र्याउन लागेको धान बालीमा क्षति

कसले दिन्छ किसानलाई राहत ?

Mayorsap

मंगल, कार्तिक २०, २०८१ | १२:२१ बजे

काठमाण्डू, कात्तिक २०: बाँकेमा काटेर खेतमै सुकाएको धानबालीमा सोमबार साँझ परेको बेमौसमी वर्षाले क्षति पुर्‍यायो । वर्षाले भित्र्याउन ठिक्क परेको धानको बाला भिजाएको छ भने काट्न ठिक्क परेको धान खेतमा नै झारिदिएको छ । वर्ष दिनसम्म खाने धानबाली वर्षाले भिजाएर क्षति पुर्याएको नेपालगञ्ज–१७ परसपुरका किसान रामसुरत बर्माले बताउनुभयो ।     
     
दुई बिघा खेतमा लगाएको मसिनो जातको धान काटेर स्याहार्ने बेला गए रातिको वर्षाले भिजाएर ठूलो क्षति भएको उहाँको भनाइ छ । केही दिनदेखि मौसम पूर्ण रूपमा नखुलेका बेला डराइडराई धान काटेका किसानलाई वर्षाले निराश पारेको छ ।     
     
नेपालगञ्ज–१७ थुकैलागाउँकी किसान मायावती यादवले वर्षभरि खाने धान क्षणभरमै भिजेर नष्ट भएको बताउनुभयो । उहाँले भन्नुभयो, “धान काटेको तीन दिन भयो, दिपावली मनाएर घर लैजाने भनेको पानीले रुझायो, अब धान र पराल काम नलाग्ने भयो ।”     
     
बेमौसमी वर्षाले धान स्याहार्न नपाएका यहाँका किसानलाई चिन्तित बनाएको छ । कृषि ज्ञान केन्द्र बाँकेका कार्यालय प्रमुख वरिष्ठ कृषि अर्थविज्ञ विनोद घिमिरेले बेमौसमी वर्षाले काटेको धानमा ठूलो क्षति पुर्याएको बताउनुभयो ।     
     
“अचानक परेको पानीले अन्य बालीमा असर नपुगे पनि काटेको धानलाई क्षति पुर्याएको छ, के कति क्षति भयो भन्ने तथ्याङ्क सङ्कलनमा लागेका छौँ”, उहाँले भन्नुभयो, “बाँकेमा छिटो पाक्ने धान किसानले स्याहारिसकेका छन्, ढिलो पाक्ने धान भित्र्याउने बेला क्षति पुगेको छ ।”     
     
उहाँले छिटो पाक्ने धान रोपेका बाँकेका अधिकांश किसानले धान स्याहारेर गहुँ, तोरीखेतीका लागि खेत तयारी गरिरहेको जानकारी दिनुभयो । करिब ६० प्रतिशत बढी किसानले धानबाली भित्र्याइसकेको अनुमान रहेको प्रमुख घिमिरेले बताउनुभयो । बाँकेमा यो वर्ष धान उत्पादन बढ्ने अनुमान गरिएकामा बेमौमी वर्षाले धानबालीमा क्षति पुर्याएको छ ।

त्यस्तै पर्वतका विभिन्न क्षेत्रमा सोमबार दिउँसो परेको बेमौसमी वर्षाका कारण थन्क्याउने तयारी भएको धानबाली र परालमा क्षति पुगेको छ ।     
     
सोमबार दिउँसो परेको वर्षाले खेतमा लटरम्म पाकेको धान झारेको छ भने काटेर सुकाएको निहिन र पराल पूरै डुबाएको किसानले गुनासो गरेका छन् । जिल्लाको फलेवास, महाशिला, विहादी, जलजला, मोदी र पैयूँ गाउँपालिकाका अधिकांश स्थानका किसानले तिहार सकिएलगत्तै धान भित्र्याउने तयारी गरेका थिए ।     
     
कतिपयको तिहार अघिदेखि काटेर सुकाएको र कतिपयको सोमबार बिहान काटेको धान नष्ट गरेको मोदी गाउँपालिका–२ देउपुरका प्रकाश चापागाईँले जानकारी दिनुभयो । धान थन्क्याइसकेका किसानले दाइँ हालेर टौवा बनाउने तयारी गरेका बेला पराल रुझेको गुनासो गरेका छन् । रुझेको पराल कुहिएमा गाईभँैसीले नखाने भएकाले केही दिन लगातार सुकाउनुपर्ने समस्या भएको ठुलीपोखरीका किसान रामप्रसाद सापकोटाले बताउनुभयो ।    
     
कृषि ज्ञान केन्द्रका बाली संरक्षण अधिकृत शङ्कर पौडेलले जिल्लाका सबैजसो पालिकामा थन्क्याउने तयारी गरेको धानमा वर्षाले नोक्सानी पुर्याएको बताउनुभयो । यसअघि यही कात्तिक ६ गते पनि असिनापानी पर्दा क्षति भएको थियो । त्यतिबेला बचेको धान अहिले थन्क्याउने बेलामा फेरि असर गरेको उहाँको भनाइ छ । क्षतिको यकिन विवरण सङ्कलनको काम भइरहेको उहाँले बताउनुभयो ।     
     
धान पर्वतको मुख्य बाली हो । पटकपटक आएको असिना र भारी वर्षाले धानबालीमा क्षति पुर्याएपछि यसपटक उत्पादनमा पनि कम हुने भएको छ । रोप्ने बेलामा मौसम अनुकूल परेका कारण यस वर्ष उत्पादन बढ्ने आकलन गरिएको भए पनि अहिले क्षति पुगेको कार्यालयले जनाएको छ ।     

तपाईंको प्रतिक्रिया

सम्बन्धित खबर

ट्रेन्डिङ

ताजा अपडेट

सूचना, सचेतना, सहकार्य !

 

थप जानकारी

सूचना विभाग दर्ता न.: 4705-2081/2082

प्रेस काउन्सिल नेपाल सूचीकरण न.:-४६९९-२०८१/०८२  

अध्यक्ष : Pradip Khadka

डेस्क इडिटर: 

समाचार

महत्वपूर्ण लिंक

सम्पर्क

© 2024 mayorsap.com | सर्वाधिकार सुरक्षित

Developed with ❤️ by Clock b Business Technology