समाजवादी त्यागेकाे दुई दिनमै महाबुमा एमालेले जंगबहादुर शाहीलाई बनायो उम्मेदवार
नेपाली कांग्रेस, माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी र एमालेमध्ये कसले मार्ला बाजी ?
Mayorsap
आइत, मंसिर २, २०८१ | ११:२८ बजे
काठमाडाैं, मंसिर २: दैलेखको महाबु गाउँपालिकामा एमालेले २ दिनअघिमात्रै समाजवादी पार्टी छाडेर एमालेमा फर्किएका व्यक्तिलाई उम्मेदवार बनाएको छ ।
गाउँपालिका अध्यक्ष पदमा हुन लागेको उपनिर्वाचनका लागि नेकपा एमालेले समाजवादी त्यागेर फर्किएकाे दुई दिनमै जंगबहादुर शाहीलाई उम्मेदवार बनाएको हो । उनी मंगलबार मात्रै एमालेमा प्रवेश गरेका थिए ।
नेकपा एसका केन्द्रीय सदस्य रहेका शाहीलाई कर्णालीका मुख्यमन्त्री तथा एमाले स्थायी कमिटी सदस्य यामलाल कँडेलले एमालेमा स्वागत गरेका थिए । २०७४ को स्थानीय तहको निर्वाचनमा एमालेबाट सोही गाउँपालिकाको अध्यक्षमा निर्वाचित भएर पाँच वर्ष चलाइसकेका शाहीलाई एमालेले फेरि उम्मेदवार बनाएकाे हाे । तत्कालीन समयमा एमालेमै रहेका उनले पछि एमाले विभाजन हुँदा समाजवादी रोजेका थिए ।
महाबुमा चार राजनीतिक दलहरूबीच कडा प्रतिस्पर्धा हुने देखिएको छ । नेपाली कांग्रेसबाट झलक भण्डारी, माओवादी केन्द्रबाट जंगबहादुर बराल, राष्ट्रिय स्वतन्त्र पार्टीबाट प्रकाशकुमार बुढा उम्मेदवार छन् । रास्वपाबाट उम्मेदवार बनेका बुढा विगतमा एमाले, समाजवादी हुँदै रास्वपामा गएका हुन् । उनी समाजसेवीका रूपमा समेत चिनिन्छन् ।