शुक्लाफाँटा नगरपालिकाका सामुदायिक वनभित्र कृत्रिम पोखरी निर्माण
पोखरी निर्माणले सामुदायिक वनभित्र जङ्गली जनावरको आवतजावत बढेको छ ।
Mayorsap
शुक्र, मंसिर २८, २०८१ | १२:१७ बजे

कञ्चनपुर । वन्यजन्तुलाई पानी पिउनका लागि शुक्लाफाँटा नगरपालिका–२का सामुदायिक वनभित्र तीन वटा कृत्रिम पोखरी निर्माण गरिएका छन् ।
सुनदेवी उपभोक्ता समितिले तराई भूपरिधि कार्यक्रम (ताल)को रु. तीन लाख सहयोगमा वातावरण मध्यवर्ती सामुदायिक वनमा दुई र नागेश्वर मध्यवर्ती सामुदायिक वनभित्र एक गरी तीन वटा कृत्रिम पोखरी निर्माण गरेका हुन् ।
पोखरीमा बाह्रै महिना पानीको व्यवस्था मिलाउन ‘बोरिङ’ जडान गरिएका छन् । निर्माण गरिएका तीन वटै पोखरी ८० हजार लिटर क्षमताका छन् । निर्माण गरिएका पोखरीबाट वन्जयजन्तुलाई सुख्खायाममा पानी पिउन सहज भएको वन उपभोक्ता भरतबहादुर विष्टले बताए । पानीको व्यवस्था गरेपछि विगतमा झैँ पानीको खोजी गर्दै बस्तीसम्म जङ्गली जनावर आउने क्रम रोकिएको विष्टको भनाइ छ ।
पोखरी निर्माणले सामुदायिक वनभित्र जङ्गली जनावरको आवतजावत बढेको नागेश्वर मध्यवर्ती सामुदायिक वनका अध्यक्ष जयबहादुर ऐरले बताए । उनका अनुसार सुख्खायाममा सामुदायिक वनभित्र पिउने पानी व्यवस्था नहुँदा विगतमा थोरै मात्रै जनावर देखा पर्ने गरेका थिए ।