चुरियामाई सुरुङ सर्वसाधारणका लागि आज खुल्दै
Mayorsap
सोम, पौष ८, २०८१ | १०:१४ बजे

मकवानपुर । दक्षिण एसियाकै पहिलो भनिएको ‘चुरियामाई सुरुङ मार्ग’ सर्वसाधारणका लागि खुल्ने भएको छ । जीर्णोद्धारको लामो पर्खाइपछि बागमती प्रदेश सरकारले आज सोमबार हेटौँडा उपमहानगरपालिकालाई हस्तान्तरण गर्ने भएपछि सुरुङमार्ग सर्वसाधारणले अवलोकन गर्न पाउने गरी खुल्ने भएको हो ।
मकवानपुरको हेटौँडा उपमहानगरपालिका वडा नम्बर १५ स्थित चुरियामाई मन्दिरसँगै रहेको सुरुङ मार्ग बागमती प्रदेश सरकारले सोमबार एक औपचारिक कार्यक्रमबिच हेटौँडा उपमहानगरपालिकालाई हस्तान्तरण गर्दै छ । प्रदेश सरकार अन्तर्गतको प्रदेश यातायात पूर्वाधार निर्देशनालय हेटौँडाले सुरुङ पुनः निर्माण गरेपछि सुरुङ सञ्चालनको व्यवस्थापन कसले गर्ने भन्ने अन्योल थियो ।
समयमै कार्यविधि नबन्दा र सञ्चालनको लागि तदारुकता नदेखाउँदा सुरुङमार्ग जीर्णोद्धार भएको ८ महिनापछि खुल्न लागेको हो । अहिले हेटौँडा उपमहानगरपालिकाले सुरुङमार्गको व्यवस्थापन र सञ्चालन गर्ने सहमति भएपछि सर्वसाधारणका लागि खुला गर्न लागिएको प्रदेश यातायात पूर्वाधार निर्देशनालयका निर्देशक पुष्करराज पोखरेलले जानकारी दिए ।
सुरुङमार्ग अवलोकन गर्न आउने नेपालीलाई प्रतिव्यक्ति ५०, विदेशीलाई प्रतिव्यक्ति १२०, विद्यार्थीलाई प्रतिव्यक्ति २०, र ५ वर्षमुनिका बालबालिका, ज्येष्ठ नागरिक र अपाङ्गता भएका व्यक्तिहरुलाई निःशुल्क गरिने हेटौँडा उपमहानगरपालिकाकी मेयर मिना लामाले जानकारी दिइन् । हस्तान्तरण समयमै नहुँदा सर्वसाधारणको लागि खुला गर्न ढिलाइ भएको बताउँदै उनले अब हस्तान्तरणसँगै सर्वसाधारणको अवलोकनका लागि ऐतिहासिक सुरुङमार्ग खुला हुने मेयर लामाको भनाई छ ।
२०७९ साल वैशाख १९ गते जीर्णोद्धार सम्पन्न गर्ने गरी काम सुरु भएको १९८ मिटर लम्बाइको सुरुङ मार्गको पुनः निर्माणको काम सम्पन्न हुँदासम्म करिब २२५ मिटर पुगेको छ । ऐतिहासिक महत्वको सुरुङ मार्ग पर्यटकीय गन्तव्यको रूपमा विकास गर्ने उद्देश्यसहित बागमती प्रदेश सरकारले यसको जीर्णोद्धारको काम थालेको थियो ।
प्रदेश सरकार अन्तर्गतको प्रदेश यातायात पूर्वाधार निर्देशनालय हेटौँडाले सुरुङ पुनः निर्माणको लागी कुल ३ करोड ३६ लाख १३ हजार रुपैयाँमा माउन्टेन इन्फ्रा कम्पनी लिमिटेड काठमाडौँलाई जिम्मेवारी दिएको थियो । सम्झौता अनुसार सुरुङको चौडाइ साढे २ मिटर र उचाइ ३ फिट हुने गरी पहिलेकै स्वरूपमा पुनः निर्माण सम्पन्न भएको छ ।