टेम्केमैयुङ गाउँपालिकामा माघ १ गतेदेखि कृषि मेला हुँदै
‘मुन्धुम ट्रेल भ्रमण वर्ष–२०२५’ लाई लक्षित
Mayorsap
मंगल, पौष ९, २०८१ | ११:२० बजे
काठमाडौँ । भोजपुरको पर्यटकीय क्षेत्र चखेवा डाँडामा आगामी माघ १ गतेदेखि सांस्कृतिक तथा पर्यटन कृषि मेला आयोजना हुने भएको छ ।
टेम्केमैयुङ गाउँपालिकाले पत्रकार सम्मेलन आयोजना गरी संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डेको प्रमुख आतिथ्यमा १ देखि ५ माघसम्म मेला आयोजना गर्न लागिएको बताएको छ ।
टेम्केमैयुङ गाउँपालिका–४ नागीको चखेवामा आयोजना हुने बृहत् सांस्कृतिक तथा पर्यटन कृषि मेला ‘मुन्धुम ट्रेल भ्रमण वर्ष–२०२५’ लाई लक्षित गर्दै आयोजना गर्न लागिएको गाउँपालिकाका अध्यक्ष सरोज बस्नेतले बताए ।
सरकारको एक सय पर्यटकीय गन्तव्यमध्ये भोजपुरको मुन्दुम पदमार्ग एक भएकाले सो मार्गको प्रचारप्रसार गरी पर्यटन प्रवद्र्धन गर्न, स्थानीय कृषिउपजको प्रयोग बढाउन र स्थानीयको आयस्तर वृद्धि गर्न मेला सहयोगी बन्ने उनको भनाई छ ।
स्थानीयस्तरका कृषि उत्पादनहरूलाई प्रोत्साहन गर्ने उद्देश्यका साथ हुने मेलामा कृषि प्रदर्शनीका साथै स्थानीय तथा राष्ट्रियस्तरका कलाकारले सांस्कृतिक तथा मनोरञ्जनात्मक प्रस्तुती हुने उनको भनाइ छ ।
बृहत् मेलामा मुन्दुम पदमार्गको प्रवद्र्धन र दिगो विकासका लागि साझा अवधारणापत्र सार्वजनिक गर्नुका साथै उक्त अवधारणापत्रमा हस्ताक्षरसमेत गरिने गाउँपालिकाले जनाएको छ ।