मेयरसाप

केपी ओली

कमलबजार नगरपालिका

पर्यटन

खार्पुनाथ गाउँपालिका

लिम्चुङबुङ गाउँपालिका

मनरासिसवा नगरपालिका

भजनी नगरपालिकामा बोक्सीको आरोपमा एक महिलालाई सामूहिक कुटपिट

महिलाकाे धनगढीस्थित नवजीवन अस्पतालको सघन उपचार कक्ष (आईसीयू)मा उपचार भइरहेको छ ।

Mayorsap

मंगल, पौष ९, २०८१ | १२:०३ बजे

धनगढी । कैलालीको भजनी नगरपालिकामा एक महिलालाई बोक्सीको आरोपमा मरणासन्न हुने गरी कुटपिट गरिएको घटना बाहिरिएको छ ।


गाउँलेहरूको एक समूहले पुस ४ गते दिउँसो ३ बजे नै ३० वर्षीय महिलालाई घरबाट तान्दै घिसारेर लगेर मरणासन्न हुने गरी कुटपिट गरेको घटना बाहिरिएको हो ।


कुटपिटबाट अचेत भएपछि उनलाई त्यही दिन बेलुका ५ बजे आफन्तले भजनी नगरपालिकाको स्वास्थ्य केन्द्रमा लगेका थिए । त्यहाँ उपचार हुन नसकेपछि उनलाई धनगढी रिफर गरियो ।


अहिले उनको धनगढीस्थित नवजीवन अस्पतालको सघन उपचार कक्ष (आईसीयू)मा उपचार भइरहेको छ । उनको होस आए पनि मानसिक रूपमा विक्षिप्त बनेकी छन् ।


उपचारमा संलग्न चिकित्सक विदुरमणि ढकालले कुटपिटले मांसपेशीमा नराम्रोसँग असर परेको बताए । रगतमा इन्फेक्शन पनि हुन सक्ने र मुटुमा असर पुग्न सक्ने भएकाले केही दिन निगरानीमा राखेको डाक्टर ढकालले जानकारी दिए ।

 

पीडित महिलाकी आमाका अनुसार गाउँकै भलमन्सा लालबहादुर चौधरी र गुरुबाको आदेशमा गाउँलेहरूले उनलाई बोक्सी भन्दै कुटेका हुन् । त्यसअघि पनि उनलाई कुटपिट भएको थियो ।

 

उनकी आमाले भनिन्, ‘गाउँलेहरू पुस १ गते राति घरमा आए । राति ८ बजे आएका गाउँलेले घरमै कुटपिट गरेका थिए ।’ पीडितकी आमाका अनुसार गाउँलेहरूले ‘म बोक्सी हुँ, गल्ती गरेँ, माफ गर’ भन्न लगाएका थिए । तर छोरीले ‘म बोक्सी होइन, किन माफी माग्ने’ भनेपछि कुटपिट गरेको उनले सुनाइन् ।

 

गाउँलेहरूले लाठी र खुट्टाले निर्घात कुटपिट गरेको उनकी आमाले बताइन् । उनको शरीरभरि नीलडाम रहेको अस्पतालले जनाएको छ । मारिदिने भन्दै कोदालोले हिर्काउँदा उनी बेहोश भएको उनकी आमाले सुनाइन् ।

 

बेहोस भएपछि बचाउन गएका उनका भाइलाई पनि गाउँलेले कुटपिट गरेका छन् । यहाँसम्म कि बोक्सीको सन्तानलाई सिध्याउनुपर्छ भन्दै गाउँलेहरूले पीडितका छोरालाई समेत कुटपिट गरेको परिवारको आरोप छ ।

 

पीडित महिलाका पाँच र दुई वर्षका दुई छोरा छन् । उनका श्रीमान् रोजगारीका लागि भारतमा छन् । आर्थिक अवस्था कमजोर भएकाले बोक्सी भन्दै हेप्ने गरेको आफन्तले बताएका छन् ।

 

घटना घटेको एक साता बित्नै लाग्दासमेत प्रहरी प्रशासन भने पीडकलाई जोगाउन उद्यत देखिएको छ । प्रहरीले उल्टै पीडककै पक्ष लिएको पीडितको दुखेसो छ ।कुटपिटमा संलग्न ६ जना विरुद्ध पीडितका परिवारजनले प्रहरीमा किटानी जाहेरी दिएका छन् । उनीहरूमध्ये चार जनालाई पक्राउ गरिए पनि दुई जनालाई अझै नियन्त्रणमा लिइएको छैन ।

 

इलाका प्रहरी कार्यालय भजनीका प्रमुख तथा प्रहरी निरीक्षक युवन चौधरीका अनुसार कुटपिटमा संलग्न रहेको आरोपमा लाहनु चौधरी, मनोज चौधरी, रूपा चौधरी र बाबुराम चौधरी पक्राउ परेका छन् । किटानी जाहेरी परेका जयराम चौधरी र करन चौधरीलाई अझै पक्राउ नगरिएको हो । घटनाबारे अनुसन्धान जारी रहेको प्रहरी निरीक्षक चौधरीको भनाइ छ ।

 

बोक्सीको आरोप (कसूर र सजाय ऐन) २०७२ को दफा ११ को उपदफा (ङ)मा पाँचदेखि आठ वर्षसम्म कैद र ५० हजारदेखि एक लाख रुपैयाँसम्म जरिवाना हुने प्रावधान छ । यसैबिच अधिकारवादी संघ संस्थाहरुले पीडकलाई कानुन बमोजिम हदैसम्मको कारबाही हुनुपर्ने माग गरेका छन् ।

 

थारु कल्याणकारिणी सभा कैलालीका पूर्वसभापति माधव थारुले पीडितको स्वास्थ्य उपचार र समाजमा सम्मानपूर्वक जीवन जिउने अधिकार राज्यले प्रत्याभूत गर्नुपर्ने बताउँछन् । उनले दोषीलाई हदैसम्मको कारबाही हुनुपर्नेमा जोड दिए ।

 

महिला पुनर्स्थापना केन्द्र (ओरेक)का कैलाली जिल्ला संयोजक गीता चौधरीले पीडित महिलाको स्वास्थ्यमा अझै सुधार हुन नसकेको बताइन् । सामाजिक तिरष्कारले उनी मानसिक रुपमा विक्षिप्त रहेको चौधरीको भनाइ छ ।

​​मेयरसापमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए writeto.mayorsap@gmail.com मा पठाउनु होला।

तपाईंको प्रतिक्रिया

सम्बन्धित खबर

ट्रेन्डिङ

ताजा अपडेट

सूचना, सचेतना, सहकार्य !

 

थप जानकारी

सूचना विभाग दर्ता न.: 4705-2081/2082

प्रेस काउन्सिल नेपाल सूचीकरण न.:-४६९९-२०८१/०८२  

अध्यक्ष : Pradip Khadka

हाम्राे टिम

समाचार

महत्वपूर्ण लिंक

सम्पर्क

© 2024 mayorsap.com | सर्वाधिकार सुरक्षित

Developed with ❤️ by Clock b Business Technology