जीतपुरसिमरा उपमहानगरपालिकाको नगरसभा बदरको रिट उच्च अदालतद्वारा खारेज
Mayorsap
मंगल, पौष ९, २०८१ | १५:४३ बजे
काठमाडौँ । बाराको जीतपुरसिमरा उपमहानगरपालिकाको दशौं नगरसभा बदरको माग राख्दै दायर भएको रिट खारेज भएको छ । उच्च अदालत जनकपुरको बीरगन्ज इजलासले सो रिट खारेज गरिदिएको हो ।
गत असार १० गते जीतपुरसिमरा उपमहानगरपालिकाको दशौं नगरसभा आयोजना भएको थियो । सो नगरसभा बदरको माग राख्दै वडाध्यक्ष हरिदेब खरेलसहित ९१ नगर सभा सदस्यले गत असार २३ गते उच्च अदालत जनकपुरको अस्थायी इजलाश बीरगञ्जमा रिट दायर गरेका थिए ।
सो रिटमाथि आइतबार अन्तिम सुनुवाई भएको थियो । न्यायाधिशद्वय ऋषिराम निरौला र भरत लम्सालको संयुक्त इजलाशले रिट खारेजको फैसला गरेको हो । रिटमा नगर प्रमुख राजन पौडेल र प्रमुख प्रशासकीय अधिकृत उर्मिला काफ्ले सहितलाई विपक्षी बनाईएको थियो ।
सो नगरसभाको लागि आफूहरुले समयमै सूचना नपाएको दाबी असन्तुष्ट पक्षको थियो । आगामी दिनमा नगर सभा सदस्यलाई सूचना दिंदा कानुनले तोकेको प्रकृया पुरा गर्न अदालतले नगरपालिकालाई निर्देशन दिएको छ ।
गत असार १० गते भएको उपमहानगरपालिकाको दशौं नगरसभामा विवाद उत्पन्न हुँदा कुर्सी तोडफोड पनि भएको थियो । मेयर तथा प्रमुख प्रशासकीय अधिकृत मिलेर नियम विपरित नगरसभा आयोजना गरेको असन्तुष्ट पक्षको भनाइ थियो ।