मोरङमा बाँसको झ्याङमा हातखुट्टा बाँधिएको अवस्थामा भेटिएकी महिलाको स्वास्थ्यमा सुधार


विराटनगर । मोरङको कटहरीमा अचेत अवस्थामा फेला परेकी महिलाको स्वास्थ्यमा सुधार देखिएको छ । मंगलबार दिउँसो कटहरी गाउँपालिका– २ को धानखेतको बीचमा रहेको बाँसको झ्याङभित्र मुखमा पट्टी लगाएर हातखु्टटा बाँधिएको अवस्थामा २२ वर्षीय महिला अचेत अवस्थामा भेटिएकी थिइन् ।
जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता डीएसपी वेदप्रकाश जोशीका अनुसार अचेत अवस्थामा भेटिएकी महिला जहदा गाउँपालिका– ३ की बासिन्दा हुन् । मंगलबार करिब ११ बजे पराल लिन गएकी महिलाले देखेपछि उनको उद्दार गरिएको थियो । महिलाको स्वास्थ्य अवस्थामा सुधार हुँदैछ, घटनाको विषयमा अनुसन्धान पनि भइरहेको छ ।
प्रहरीका अनुसार ऋषिदेव थरकी ती महिलाका दुई सन्तान छन् । श्रीमानसँग सम्बन्ध बिग्रिएपछि उनी माइतमा बस्दै आएकी थिइन् । मंगलबार बिहान भने उनी घरबाट निस्किएकी थिइन् । डीएसपी जोशीका अनुसार महिलाले लगाएको कपडा च्यातिएका छन्, शरीरका केही भागमा निलडाम पनि छन् ।