गगन थापा नेपाली कांग्रेसको सभापतिमा निर्वाचित, ६ हजार ५८४ मत प्राप्त
मेयरसाप डेस्क
|
२०८३ असोज २४ गते ०९:००
काठमाडौं । नेपाली कांग्रेसको सभापतिमा गगनकुमार थापा निर्वाचित भएका छन्। पार्टीको १५औँ महाधिवेशनअन्तर्गत भएको निर्वाचनमा थापाले प्रतिस्पर्धी श्यामकृष्ण खड्गीलाई भारी मतान्तरले पराजित गरेका हुन्।
मतपरिणामअनुसार थापाले ६ हजार ५८४ मत प्राप्त गर्दा खड्गीले ३७५ मत पाए। कुल ७ हजार ३९ जनाले मतदान गरेकामा ५४ मत बदर भएको थियो।

विद्यार्थी राजनीतिबाट उदाएका थापा नेविसंघको नेतृत्व हुँदै सांसद, स्वास्थ्यमन्त्री र कांग्रेस महामन्त्री बनेका थिए। उनी अब आगामी चार वर्ष पार्टीको नेतृत्वमा रहनेछन्।
सभापतिमा निर्वाचित भएसँगै थापासामु पार्टीभित्रको गुटगत विभाजन अन्त्य गर्ने, असन्तुष्ट पक्षलाई समेट्ने, जम्बो केन्द्रीय कार्यसमिति व्यवस्थापन गर्ने र आगामी स्थानीय तथा प्रदेश निर्वाचनमा कांग्रेसको साख फर्काउने चुनौती छन्। साथै, पार्टीको आधिकारिकतासम्बन्धी मुद्दा सर्वोच्च अदालतमा विचाराधीन रहेकाले त्यसको अन्तिम टुंगो पनि उनका लागि महत्त्वपूर्ण हुनेछ।
Facebook Comments