भारतमा बालेनले के उठाएनन्? सीमा विवादमा किन मौनता!
मेयरसाप डेस्क
|
२०८३ मंसिर ०८ गते ११:०२
काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहको भारत भ्रमण सकियो। दुई देशबीच नयाँ भिजन पेपर सार्वजनिक भयो, २ खर्ब ४० अर्ब रुपैयाँ आर्थिक सहायता घोषणा भयो, रेल, ऊर्जा, पेट्रोलियम र पूर्वाधारका क्षेत्रमा विभिन्न सहमति पनि भए। तर नेपाल–भारत सम्बन्धमा वर्षौंदेखि पेचिलो बनेका केही महत्त्वपूर्ण मुद्दा भने यो भ्रमणमा पनि ओझेलमै परे।
सबैभन्दा ठूलो प्रश्न सीमा विवादमै छ। काठमाडौंको मेयर हुँदा कार्यकक्षमा ग्रेटर नेपालको नक्सा राखेका र प्रधानमन्त्री बनेपछि संसद्मै कालापानी, लिपुलेक र लिम्पियाधुराको विषयमा भारतसँगै चीन र बेलायतसँग पनि कूटनीतिक संवाद भइरहेको बताएका बालेनले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँगको सार्वजनिक भेटवार्तामा भने सीमा विवाद उठाएनन्। मोदीले पनि यसबारे बोलेनन्।
संयुक्त वक्तव्यमा बाँकी सीमा विवाद समाधान गर्न परराष्ट्र सचिवहरूलाई निर्देशन दिने उल्लेख छ। तर यो नयाँ सहमति होइन। सन् २०१४ मै मोदी र तत्कालीन प्रधानमन्त्री सुशील कोइरालाले यही जिम्मेवारी परराष्ट्र सचिवहरूलाई दिएका थिए। १२ वर्षपछि पनि त्यही निर्देशन दोहोरिएको छ। यसपटक त कालापानी र सुस्ताको नामसमेत संयुक्त वक्तव्यमा स्पष्ट उल्लेख छैन। विवाद समाधानको समयसीमा वा नयाँ कार्ययोजना पनि बनेको छैन।
अर्को महत्त्वपूर्ण विषय हो, सन् १९५० को नेपाल–भारत शान्ति तथा मैत्री सन्धि। दुवै देशले नयाँ भिजन पेपरमा पुराना सन्धि–सम्झौता पुनरावलोकन गर्न सकिने उल्लेख त गरेका छन्। तर आठ वर्षअघि नै तयार भएको प्रबुद्ध व्यक्ति समूह अर्थात् ईपीजीको प्रतिवेदनबारे भने कुनै ठोस निर्णय भएन। भारतले अहिलेसम्म औपचारिक रूपमा बुझ्नसमेत नमानेको प्रतिवेदनको भविष्य अझै अनिश्चित छ।
त्यस्तै, तीन दशकदेखि अड्किएको पञ्चेश्वर बहुउद्देश्यीय आयोजना पनि पुरानै प्रतिबद्धतामा सीमित रह्यो। सन् २०१४ मा एक वर्षभित्र डीपीआर टुंग्याउने, २०२३ मा तीन महिनाभित्र अन्तिम रूप दिने भनिएको थियो। तर यसपटक पनि शीघ्र डीपीआर टुंग्याएर काम अघि बढाउन निर्देशन दिने मात्रै सहमति भयो। पानीको बाँडफाँट र लागत–लाभको विवाद समाधान गर्ने नयाँ आधार वा समयसीमा आएन।
यति मात्र होइन, नेपालको बढ्दो व्यापार घाटा घटाउने, नेपाली चिया, प्लाइउडलगायत उत्पादनलाई भारतीय बजारमा सहज पहुँच दिलाउने, भारतमा बसोबास गर्ने नेपाली नागरिकका समस्या समाधान गर्ने विषयमा पनि ठोस सहमति सार्वजनिक भएन। सार्कलाई पुनः सक्रिय बनाउने विषयले समेत प्राथमिकता पाएन।
नेपालले मागेको दुई अर्ब अमेरिकी डलर आर्थिक सहायताको सट्टा भारतले करिब एक अर्ब ६२ करोड डलर बराबरको सहयोग घोषणा गर्यो। त्यसमा अनुदान २३ प्रतिशत र सहुलियतपूर्ण ऋण ७७ प्रतिशत छ। बुटवल–पोखरा द्रुतमार्गका लागि छुट्टै मागिएको सहायता पनि स्पष्ट रूपमा सुनिश्चित भएन। पश्चिमबाट थप अन्तर्राष्ट्रिय हवाई प्रवेशमार्ग मागिएकोमा काठमाडौं–भैरहवा–लखनउ रुटलाई दुईतर्फी बनाउने सहमति मात्रै भयो, त्यो पनि प्राविधिक प्रक्रिया पूरा हुन बाँकी छ।
अर्कोतर्फ कान्डला र पारादीप बन्दरगाहको सुविधा, आईआईटी क्याम्पस, रेल सम्पर्क, तल्लो अरुण आयोजना, पेट्रोलियम पाइपलाइन र क्रिकेट पूर्वाधारमा सहकार्यजस्ता उपलब्धि पनि भएका छन्।
तर सीमा विवाद, ईपीजी र पञ्चेश्वरजस्ता विषयमा ठोस समयसीमा र कार्ययोजना नबनाई नेपालले आफ्नो राष्ट्रिय हितका मुद्दालाई भारतसँग निर्धक्क भएर उठाउन सकेकाे देखिएन् । प्रधानमन्त्री बालेनकाे भारत भ्रमणमा यस्ता विषय नसमेटिएपछि अहिलेकाे भ्रमण पनि प्रचार गरेजस्ताे सफल भने देखिएन ।
Facebook Comments