मेयरसाप

कर्मचारी

सम्पादकीय

महाशिवरात्री

चौरजहारी नगरपालिका

बालेन शाह

निर्माण

चौरपाटी गाउँपालिका

विपन्न किसान

जाडोमा भक्का बेचेर खर्च जुटाउदै महिला

Mayorsap

बुध, पौष १०, २०८१ | ०९:१३ बजे

सुनसरी । जाडो याम सुरु भएसँगै यहाँका केही महिलाले भक्का बिक्री सुरु गरेका छन् । जाडोमा भक्का बढी बिक्री हुने भएकाले घरखर्च जुटाउन सजिलो भएको उनीहरुको भनाइ छ ।

धरान उपमहानगर–१० का दिया राजधामी हरेक दिन विहान र बेलुका भक्का बिक्रीका लागि घर नजिकैको गल्लीमा पुग्छिन् । उनले भक्का बेच्न सुरु गरेको चार वर्ष भयो । कात्तिकदेखि फागुनसम्म भक्का बिक्री गर्ने गरेको र यसैबाट  घरखर्च जुटाउने गरेको उनले सुनाइन्।

उनले भक्का प्रतिगोटा रु २० दरले बिक्री गर्छिन् । उनले भनिन्, “भक्का बिक्रीबाट दैनिक रु तीन हजार पाँचसयसम्म आम्दानी हुन्छ, मेहनतअनुसारको कमाइ छ, घर खर्चमा सहयोग पुगेको छ ।” उनले हरेक दिन करिब सात केजी चामलको पिठोको भक्का बिक्री गर्दै आएकी छन् । उनका अनुसार स्थानीयहरु मर्निङ वाकदेखि नै भक्का खान झम्मिन्छन् ।

धरान उपमहानगर–१७ का जितेन्द्र राईले आफू मर्निङ वाकमा जाँदा धेरै जसो भक्का खाने गरेको सुनाए । “भक्का पानीको बाफबाट कुनै रसायन प्रयोग नगरी बनाइएको हुन्छ, जुन स्वास्थ्यका लागि पनि राम्रो पनि हुन्छ, विहानको खाजाका लागि यो निकै राम्रो छ ।”

धरान उपमहानगर–१३ का विनिता राजधामीले पनि विगत आठ वर्षदेखि भक्का बेच्दै आएको बताइन् । उनले भनिन्, “जाडो सुरु भएपछि  भक्कासँगै आलुचप पनि बिक्री गर्छु, धरान–१३ को जिरोप्वाइन्टदेखि पश्चिमतर्फको गल्लीमा दिउँसो ३ बजेदेखि राति ८ बजेसम्म भक्का बिक्री गर्ने दैनिकी जस्तै बनेको छ ।”

चामललाई केही समय पानीमा भिजाएर त्यसलाई पिसेर पिठो बनाएपछि भक्का बनाउनका लागि तयार हुन्छ । भक्का विशेष गरी दाउराको प्रयोग गरेर आगोमा बनाइने हुँदा दाउरा धेरै खपत हुन्छ । अहिलो एक भारी दाउराकै रु दुई सय पर्ने गरेको उनको भनाइ छ । एक भारी दाउराले १० दिन पुग्छ । सुरुका वर्षमा भक्का प्रतिगोटा रु ५ मा बिक्री भए पनि अहिले प्रतिगोटा मूल्य रु २० पुगेको उनले सुनाइन् ।

उनका अनुसार दैनिक औसतमा रु  चार हजारको भक्का र आलुचप बिक्री भइरहेको छ । जाडोमा अन्यत्र काम खोज्दै जानुभन्दा भक्का र आलुचप बिक्री गर्न सजिलो भएको उनको भनाइ छ ।

धरान उपमहानगर–१५ का सिमा राजधामीले भक्का बेचेर राम्रो आम्दानी हुने गरेको सुनाइन् । उनले भनिन्, “जाडो याममा भक्काको व्यापार आम्दानीको राम्रो स्रोत बनेको छ, भक्का बेचेरै घरखर्च जुटिरहेको छ ।” उनका अनुसार दैनिक पाँच केजी चामलको भक्का बिक्री भइरहेको छ ।

​​मेयरसापमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए writeto.mayorsap@gmail.com मा पठाउनु होला।

तपाईंको प्रतिक्रिया

सम्बन्धित खबर

ट्रेन्डिङ

ताजा अपडेट

सूचना, सचेतना, सहकार्य !

 

थप जानकारी

सूचना विभाग दर्ता न.: 4705-2081/2082

प्रेस काउन्सिल नेपाल सूचीकरण न.:-४६९९-२०८१/०८२ 

समाचार

महत्वपूर्ण लिंक

सम्पर्क

© 2025 mayorsap.com | सर्वाधिकार सुरक्षित

Developed with ❤️ by Clock b Business Technology