मेयरसाप

केपी ओली

छाँयानाथ रारा नगरपालिका

राष्ट्रिय प्रतिभा पुरस्कार

दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले

विश्व सम्पदा

बजेट

किरात ऐतिहासिकस्थलमा गढीमा कार्यपालिकाको बैठक

सिमेन्टको कङ्क्रिट प्रयोग गरेर निर्माण गरिएको बन्द कोठाको सट्टा प्रकृतिको काखमा बसेर पहिलोपटक कार्यपालिकाको नियमित बैठक सञ्चालन

Mayorsap

शुक्र, पौष १२, २०८१ | ११:५८ बजे

काठमाडौँ । केपिलासगढी गाउँपालिकाले गाउँ कार्यपालिकाको नियमित बैठक किरात ऐतिहासिकस्थल केपिलासगढीमा सञ्चालन गरेको छ । गाउँपालिकाको सुविधासम्पन्न सभाहलमा सञ्चालन हुँदै आएको नियमित बैठक यसपटक भने केपिलासगढीको खुला चौरमा सञ्चालन भएको हो ।


केपिलासगढीका अधिकांश जनप्रतिनिधि आफ्नै पालिकामा अवस्थित किरात ऐतिहासिकस्थल केपिलासगढी नपुगेकाले बैठकको माध्यमबाट उक्त स्थलको भ्रमण गराइएको प्रमुख प्रशासकीय अधिकृत सौधन राईले बताए ।


कार्यपालिकाको बैठकले केपिलासगढीको संरक्षण तथा प्रवद्र्धन गर्ने निर्णय गरेको छ । यसका लागि आगामी आर्थिक वर्ष बजेट तथा कार्यक्रम ल्याउने कार्यपालिका बैठकमा सहभागी जनप्रतिनिधिबीच सहमति भएको छ ।


कार्यपालिकाको बैठकमा केपिलासगढीका बारेमा पाटन संयुक्त क्याम्पस काठमाडौँका पूर्वप्राध्यापक एवं संस्कृतिविज्ञ चतुरभक्त राईले कार्यपत्र प्रस्तुत गरे । कार्यपत्रमा केपिलासगढी, यसको ऐतिहासिक पक्ष, यसमा गरिएका प्रयासहरू, अब गरिनुपर्ने कार्यक्रम उल्लेख गरिएको छ ।


बैठकमा सहभागी जनप्रतिनिधि तथा कर्मचारीका लागि थुन्चेमा बोकेर लगिएको सेलरोटी, अचार र सुठुनीका साथै स्थानीय किवीको जुस खाजाको रूपमा चौरमै उपलब्ध गराइएको थियो । केपिलासगढी दरबार क्षेत्रमा पुरातत्व विभागको परामर्श र डिभिजन वन कार्यालय खोटाङको सहयोगमा भग्नावशेष संरक्षण गर्ने, गाउँपालिकाको पहलमा विभिन्न जातको गुराँसका बिरुवा रोप्नेलगायत क्रियाकलाप गरिएको छ । सिमेन्टको कङ्क्रिट प्रयोग गरेर निर्माण गरिएको बन्द कोठाको सट्टा प्रकृतिको काखमा बसेर पहिलोपटक कार्यपालिकाको नियमित बैठक सञ्चालन गरिएको हो ।


जलवायु परिवर्तनको असरबाट जोखिम क्षेत्रमा पर्ने केपिलासगढी गाउँपालिकाले जलवायुको असर न्यूनीकरणका लागि वार्षिक नीति, कार्यक्रम साथै विभिन्न गैरसरकारी संस्थासँगको सहकार्यमा कार्यक्रम सञ्चालन गर्दै आएको छ । जलवायु असर न्यूनीकरण गर्नुपर्ने साङ्केतिक अभियान र प्रयासका रूपमा समेत बैठक प्रकृतिमा गएर सञ्चालन गरिएको हो ।
 

बैठकमा पूर्वप्राध्यापक, समाजसेवी एवं संस्कृतिविज्ञ चतुरभक्त राईलाई गाउँपालिकाको तर्फबाट कदरपत्रसहित सम्मान गरिएको उपप्रमुख गुरुराज राईले जानकारी दिनुभयो । केपिलासगढीमा विसं १८३० सम्म किराती राजा निगुहाङले राज गरेको प्रमाण भेटिएको छ । तत्कालीन राजा पृथ्वीनारायण शाहले नेपाल एकीकृत गर्ने क्रममा अमरसिं थापा नेतृत्वमा आएको सैन्य टोलीले केपिलासगढी कब्जा गरेको जनाइएको छ । बाक्सिला बजार नजिकै रहेको केपिलासगढीमा राजा बस्ने दरबार, सैनिक क्याम्प, बङ्करलगायत संरचना अझै देख्न सकिन्छ । जिल्लाको उत्तरी क्षेत्रमा पर्ने केपिलासगढीलाई संस्कृतिविज्ञ चतुरभक्त राईकै नेतृत्वमा संरक्षण गरेर राखिएको छ ।
 

​​मेयरसापमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए writeto.mayorsap@gmail.com मा पठाउनु होला।

तपाईंको प्रतिक्रिया

सम्बन्धित खबर

ट्रेन्डिङ

ताजा अपडेट

सूचना, सचेतना, सहकार्य !

 

थप जानकारी

सूचना विभाग दर्ता न.: 4705-2081/2082

प्रेस काउन्सिल नेपाल सूचीकरण न.:-४६९९-२०८१/०८२  

अध्यक्ष : Pradip Khadka

हाम्राे टिम

समाचार

महत्वपूर्ण लिंक

सम्पर्क

© 2024 mayorsap.com | सर्वाधिकार सुरक्षित

Developed with ❤️ by Clock b Business Technology