अखिल क्रान्तिकारीमा ३२ वर्षे उमेरहद सम्बन्धी पहिलोपटक निर्वाचन हुँदै
Mayorsap
शुक्र, पौष १२, २०८१ | १२:५५ बजे

काठमाडौँ । नेकपा माओवादी केन्द्र निकट विद्यार्थी सङ्गठन अनेरास्ववियु क्रान्तिकारीमा उमेरहद लगाउने–नलगाउने सम्बन्धमा पहिलोपटक निर्वाचन हुन लागेको छ । नेतृत्वकाका लागि पदाधिकारी मात्र उम्मेदवार बन्न पाउने प्रावधानलाई संशोधन गर्दै ३२ वर्षे उमेरहद लगाउने कि खुला गर्ने भन्ने विवादको छिनोफानो गर्न शनिबार निर्वाचन हुन लागेको हो ।
यस विषयमा विवाद हुँदा असोज १० देखि १५ गतेसम्म कीर्तिपुरमा भएको क्रान्तिकारीको २३ औँ राष्ट्रिय सम्मेलन स्थगित भएको थियो । दोस्रो पटक मङ्सिर २३ र २४ मा हुने भनिएको सम्मेलन पनि उमेरहदमा सहमति नजुटेपछि स्थगित भएको थियो ।
विद्यार्थीको विवाद अन्त्यरहित विवादमा फस्न सक्ने देखिएपछि मङ्सिर २८ गते बसेको पार्टीको स्थायी समिति बैठकले सङ्गठनको नेतृत्वसँग परामर्श गरी सहमति जुटाएर समस्या समाधान गर्न पहल गर्ने निर्णय गरेको थियो ।
पार्टीको निर्णय अनुसार पुस ९ गते केन्द्रीय कार्यालय पेरिसडाँडामा बसेको क्रान्तिकारीका निवर्तमान अध्यक्ष, सङ्गठनका इन्चार्ज र निर्वाचन आयोगका पदाधिकारीको संयुक्त बैठकले दुई चरणमा मतदान गर्ने निर्णय गरेको थियो । आयोगले सार्वजनिक गरेको कार्यतालिका अनुसार पहिलो चरणको मतदान शनिबार बिहान १० बजेदेखि ४ बजेसम्म हुनेछ ।
मतदान केन्द्र भूगोल र गैर भूगोल गरी ८६ स्थानमा राखिएको इन्चार्ज हिमाल शर्माले जानकारी दिएका छन् । शर्माका अनुसार आठ वटा प्रदेश कार्यालय र २ वटा विश्वविद्यालय कमान्डबाट चयन भएका प्रतिनिधिहरूले तोकिएको मतदान केन्द्रमा मतदान गर्न पाउने छन् । यदि ३२ वर्षे उमेरहद अनुमोदन भएमा नेतृत्वका दाबेदार निवर्तमान अधिकांश पदाधिकारी आउट हुनेछन् ।
यस्तै नेतृत्व छनोटका लागि पुस १७ गते बिहान ११ बजेदेखि ४ बजेसम्म मतदान हुँदै छ । त्यसका लागि १५ गते केन्द्रीय पदाधिकारी तथा सदस्यको उम्मेदवारी मनोनयन दर्ता, १६ गते उम्मेदवारी उपर दाबी विरोध, उम्मेदवारी फिर्ता र उम्मेदवारको अन्तिम नामावली प्रकाशित गर्ने निर्वाचन आयोगले जानकारी दिएको छ । यसको जानकारी क्रान्तिकारीको आधिकारिक फेसबुक र वेबसाइटबाट दिइने छ । आयोगका अनुसार भूगोल र गैर भूगोल गरी ९ प्रदेश स्तरीय मतदान केन्द्र रहनेछन् ।