सीमा क्षेत्रको अवैध गतिविधि नियन्त्रण गर्न नेपाल–भारतका उच्च सुरक्षा अधिकारीहरुको बैठक
Mayorsap
आइत, पौष १४, २०८१ | १०:२५ बजे
१४ पुस, महोत्तरी । महोत्तरीको बर्दिबासमा नेपाल र भारतका उच्च सुरक्षा अधिकारीहरूको बैठक सम्पन्न भएको छ। सशस्त्र प्रहरी बल¸ नेपाल नम्बर २ को आयोजनामा शनिबार साँझ भएको डिआईजी स्तरीय बैठकमा सीमा क्षेत्रमा हुने अवैध गतिविधि पूर्ण रुपमा नियन्त्रण गर्ने निर्णय गरेको छ ।
सशस्त्र प्रहरी बल नेपाल र भारतीय सशस्त्र सीमा सुरक्षा बल एसएसबीबीच छिन्नमस्ता वाहिनी मुख्यालय महोत्तरी बर्दिबासमा भएको संयुत बैठकले उक्त निर्णय गरेको हो। सशस्त्र प्रहरी बल नेपाल तथा भारतीय सशस्त्र सीमा सुरक्षा बल एसएसबीबीच नियमित रुपमा हुने उक्त बैठकको आयोजना सशस्त्र प्रहरी बल नेपाल नम्बर २ छिन्नमस्ता वाहिनी मुख्यालय महोत्तरीले गरेको हो।
दुई पक्षीय बैठकमा सीमा सुरक्षा¸ सीमा अपराध नियन्त्रण तथा रोकथाम, लागूऔषध नियन्त्रण¸ सीमामा हुने आपराधिक गतिविधि नियन्त्रण लगायतका विषयमा छलफल भएको थियो । कार्यक्रमले सीमा सुरक्षालाई अझ प्रभावकारी बनाउँदै अघि बढ्न सहयोग मिल्ने सशस्त्र प्रहरी बल नम्बर २ वाहिनीले जानकारी गराएको छ।
बैठकमा सशस्त्र प्रहरी बल¸ नेपाल नम्बर २ छिन्नमस्ता वाहिनी मुख्यालय महोत्तरीका वाहिनीपति डीआईजी कालीदास धौवजी, भारतीय सशस्त्र सीमा सुरक्षा बल एसएसबीको सेक्टर हेडक्वार्टर मुजफ्फरपुरका डिआईजी दीपक कुमार, आईपिएस सेक्टर हेड क्वाटर पूर्णियाका डिआईजी राजेश टीकु, सेक्टर हेड क्वाटर बेतियाका डीआईजी एस सुब्रमन्यमको उपस्थिति रहेको प्रदेश प्रवक्ता तथा सशस्त्र प्रहरीका एसएसपी सुरजसेन ओलीले बताए ।
त्यसैगरी दुई दिने कार्यक्रममा मधेश प्रदेशस्थित सशस्त्र प्रहरी बल नेपालका गणपतिहरू, निमित्त गणपतिहरू लगायतका अधिकृतहरू, एसएसबीका बटालियन कमाण्डेन्टहरु लगायतको उपस्थिति रहेको सशस्त्र प्रहरी मधेश प्रदेश कार्यालय बर्दिबासले जनाएको छ।