मेयरसाप

बालेन शाह

कर्मचारी

सम्पादकीय

महाशिवरात्री

शिक्षा

बजेट

फोहोरमैला व्यवस्थापन

मिक्वाखोला गाउँपालिका

छिन्नमस्ता गाउँपालिका

देवचुली नगरपालिका

घोराही उपमहानगरपालिका

बिमस्टेक सम्मेलन अप्रिलमा गराउन थाइल्याण्डको प्रस्ताव

Mayorsap

आइत, पौष १४, २०८१ | १४:४५ बजे

काठमाडौँ । बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडीको प्रयास (बिमस्टेक) को छैटौँ बैठक अप्रिलमा गर्न प्रस्ताव गरिएको छ । गत पुस ४ गते बसेको २४ औँ बिमस्टेकका उच्च अधिकारीहरूले बैठकमा आयोजक राष्ट्र थाइल्याण्डले अप्रिलमा बिमस्टेक सम्मेलन गर्ने प्रस्ताव गरेको बताइएको हो ।


थाइल्याण्डले अध्यक्षता गरेको उच्च अधिकारीहरूको भर्चुअल बैठकपछि थाइल्याण्डका विदेश मन्त्रालयले जारी गरेको विज्ञप्ति अनुसार सन् २०२५ मा छैटौँ बिमस्टेक शिखर सम्मेलन गर्ने प्रस्ताव गरिएको छ । यसअघि  भदौ १८ र १९ गते सो बैठक थाइल्याण्डमा हुने भनिएको थियो । तर त्यहाँको राजनीतिमा अचानक आएको परिवर्तनले अन्तिम समयमा बैठक स्थगित गरिएको थियो ।


थाइल्यान्डका प्रधानमन्त्री स्रेथा थाविसिनलाई अनियमितता गरेको भन्दै त्यहाँको संवैधानिक अदालतले गत साउन ३० गते पदमुक्त गरेको थियो । त्यसको भोलिपल्ट पेतोङत्रान सिनावात्रालाई प्रधानमन्त्रीमा नियुक्त गरिएको थियो । उनी प्रधानमन्त्रीमा नियुक्त भएपछि बिमस्टेक बैठक स्थगित गरेकी थिइन् ।


अहिले अगामी अप्रिलमा बिमस्टेक बैठक गर्ने प्रस्ताव गरिएको छ । सो बैठकमा थाइल्यान्डले बिमस्टेक सेन्टर अफ एक्सिलेन्स इन ट्रोपिकल मेडिसिन एण्ड पब्लिक हेल्थ स्थापना गर्ने, बिमस्टेक एक्सिलेन्स सेन्टर इन पब्लिक अडिट (बीइसीपीए) को स्थापनाको पनि प्रस्ताव गरेको छ ।


त्यसका साथै, बैठकले संयुक्त राष्ट्र संघ (यूएन) मा बिमस्टेकको स्थायी पर्यवेक्षकको हैसियत तथा बिमस्टेक र दक्षिण पूर्वी एसियाली राष्ट्रहरूको संघ (आसियान) सहकार्यको पनि प्रस्ताव गरेको बताइएको छ ।


गत भदौमा हुने भनिएको बिमस्टेक बैठकमा प्रधानमन्त्री केपी शर्मा ओली जाने पनि तयारी थियो । त्यहाँ भारतका प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेटघाट हुने चर्चा चलेको थियो । बिमस्टेक बैठक स्थगित भएपछि प्रधानमन्त्री ओली र मोदीबिचको त्यो बैठक अमेरिका सरेको थियो । यूएनको बैठकका क्रममा साइडलाइन दुई नेताबिच भेटवार्ता भएको थियो ।


बिमस्टेकमा नेपाल, भारत, भुटान, बंगलादेश, म्यानमार, थाइल्याण्ड र श्रीलङ्का गरी सात देश सदस्य राष्ट्र रहेका छन् । सन् २०२२ मा श्रीलङ्कामा भएको पाँचौँ शिखर सम्मेलनमा नेपालसहित सबै सदस्य राष्ट्रले बडापत्रमा हस्ताक्षर गरेका थिए ।


सार्कको विकल्पमा बिमस्टेकलाई अगाडि बढाउने काम भारतले गरिरहेको टिप्पणी भइरहेको छ । भारतले सार्कको बैठकमा त्यति ध्यान दिएको छैन जति ध्यान बिमस्टेकलाई अगाडि बढाउनमा दिएको छ ।
 

यता नेकपा एमालेका अध्यक्षसमेत रहेका ओली प्रधानमन्त्रीमा नियुक्त भएपछि सार्क शिखर सम्मेलनका लागि जोड दिँदै आएका छन् । उनले औपचारिक, अनौपचारिक बैठकहरूमा पनि सार्क बैठकका कुरा उठाइरहेका हुन्छन् । ‘कुनै दुई देशको बिचमा बोलचाल छैन, झगडा छ भन्दैमा त्यसका कारण सार्क प्रभावित हुनु हुँदैन’ भन्ने उनको भनाई रहेको छ ।


गत पुस ९ गते नेपालका लागि पाकिस्तानका राजदूत एब्रार एच हस्मीसँगको भेटघाटमा पनि प्रधानमन्त्री ओलीले सार्कको बारमा चर्चा गरेका थिए । सार्कलाई सक्रिय बनाउन अध्यक्ष देशका नाताले पहल गरिरहेको समेत प्रधानमन्त्री अ‍ोलीले बताएका थिए । भारत र पाकिस्तान बिचको द्वन्द्व कारण सार्कको बैठक प्रभावित भएको हो ।


सन् २०१४ मा १८ औँ शिखर नेपालमा सम्पन्न भएको थियो । त्यसयता सम्मेलन भएको छैन । नेपाल सार्कको अध्यक्ष राष्ट्र हो ।


१९ औँ शिखर सम्मेलन गराउने जिम्मेवारी पाकिस्तानले पाएको थियो तर भारत र पाकिस्तान बिचको द्वन्द्वका कारण सो सम्मेलन अनिश्चित बनेको छ । सन् २०१६ नोभेम्बर १५ देखि १९ सम्म पाकिस्तानले इस्लामाबादमा आयोजना गरेको १९ औँ शिखर सम्मेलनमा भारत सहभागी नहुने बताएपछि सम्मेलन स्थगित भएको थियो । 

​​मेयरसापमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए writeto.mayorsap@gmail.com मा पठाउनु होला।

तपाईंको प्रतिक्रिया

सम्बन्धित खबर

ट्रेन्डिङ

ताजा अपडेट

सूचना, सचेतना, सहकार्य !

 

थप जानकारी

सूचना विभाग दर्ता न.: 4705-2081/2082

प्रेस काउन्सिल नेपाल सूचीकरण न.:-४६९९-२०८१/०८२ 

समाचार

महत्वपूर्ण लिंक

सम्पर्क

© 2025 mayorsap.com | सर्वाधिकार सुरक्षित

Developed with ❤️ by Clock b Business Technology