Ad Image

पहिलो सुदूरपश्चिम 'मेयर सम्मेलन २०८१' आजदेखि सुरु हुँदै

User Image मेयरसाप डेस्क | ६ महिना अगाडि
Image of storage/news/1735524961.jpg

डडेल्धुरा । परशुराम नगरपालिकाको आयोजनामा पहिलो सुदूरपश्चिम 'मेयर सम्मेलन २०८१' सोमबारदेखि सुरु हुँदैछ । सुदूरपश्चिम प्रदेशको बृहत्तर विकासका अवसर र चुनौतीबारे विमर्श गरी आपसी सहयोग आदानप्रदान गर्ने उद्देश्यले दुई दिने सम्मेलनको आयोजना गरिएको नगरप्रमुख भरत बडायर जोशीले जानकारी दिए ।

उनका अनुसार सम्मेलनमा सुदूरपश्चिमका उपमहानगरपालिका, नगरपालिका प्रमुख र गाउँपालिकाका अध्यक्ष, विषयविज्ञ र सरोकारवालाको सहभागिता रहने छन् । स्थानीय तहबीच समन्वय र सहकार्यमार्फत यहाँको समग्र विकासका लागि संगठित आवाज मुखरित गर्ने लक्ष्य सम्मेलनको छ ।

“पहिलो सुदूरपश्चिम नगरपालिका मेयर फोरम २०८१ यस क्षेत्रका प्रमुख सरोकारवाला, स्थानीय सरकारका नेतृत्वकर्ता, विज्ञहरु, प्रादेशिक र क्षेत्रीय सरकारी निकायका प्रमुख तथा प्रतिनिधिलाई एकैठाउँमा ल्याउने लक्ष्यका साथ आयोजना हुँदैछ”, उनले भने, “फोरमले सुदूरपश्चिम क्षेत्रको बृहत् विकासका लागि सहयोग बढाउन विचार आदानप्रदान र दिगो रणनीति निर्माणका लागि मञ्च प्रदान गर्नेछ । सूदुरपश्चिमको भविष्यका लागि स्थानीय तह मिलेर काम गर्ने र योजना बनाउने यसको मुख्य लक्ष्य हो ।”

नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत कल्पना भट्टले विभिन्न पाँच विषयमा स्थानीय तहका प्रमुख तथा विषय विज्ञहरुले विमर्श गर्ने र त्यसको निष्कर्षले यहाँको विकासका लागि सहकार्यमार्फत दिगो रणनीतिहरू निर्माण गर्न मद्दत पुग्ने अपेक्षा गरिएको बताइन् ।  

उनका अनुसार सम्मेलनमा ‘नीतिका कुरा’ सत्रमा प्रशासकीय कानुनविद् काशीराज दाहाल, सुदूरका सम्भावनाबारे लगानी बोर्डका पूर्वप्रमुख कार्यकारी अधिकृत सुशिल भट्ट, सिद्धार्थ विजनेश ग्रुप अफ हस्पिटालिटीका अध्यक्ष लक्ष्मण न्यौपाने, नेपाल क्रिकेट संघ (क्यान) का अध्यक्ष चतुरबहादुर चन्द, स्थानीय तहका चुनौती र सम्भावनाबारे स्थानीय प्रमुखहरु, विपद् व्यवस्थापन र जलवायु परिवर्तन तथा महाकाली संवाद सत्रमा प्रमुख सरोकारवालाहरुबीच विमर्श हुनेछ ।