मन्थली नगरपालिकाले नगरस्तरीय कृषि तथा लघु उद्यम प्रदर्शनी मेला आयोजना गर्दै


रामेछाप– मन्थली नगरपालिकाले सो नगरपालिकाका किसानलाई व्यवसायीक बनाउनको लागि उत्प्रेरित गर्न नगरपालिका स्तरीय कृषि तथा लघुउद्यम प्रदर्शनी मेला आयोजना गर्ने भएको छ ।
आइतबार पत्रकार सम्मेलन गरी मेला पुस १६ र १७ गते गर्न लागिएको कार्यालयले जानकारी दिएको छ ।
हालसम्म नगरपालिकाले कृषि र लघुउद्यम क्षेत्रमा गरेको लगानीको प्रतिफल हेरी आगामी लगानीका क्षेत्र पहिचान गर्न सो प्रदर्शनीले सहयोग गर्ने अपेक्षा राखिएको नगरपालिका प्रमुख लब श्रेष्ठले जानकारी दिए ।
मन्थलीका शाखा अधिकृत गोविन्द कट्टेलका अनुसार प्रदर्शनीमा बाली तर्फ तरकारी, फलफूल, रैथाने बाली, दलहन, मौरीजन्य, चिया, कफी, मसलाजन्य, कन्दमूल, नर्सरी लगायत राखिने छ ।
पशुपन्छी तर्फ खसी, बोका, अण्डा लगायत प्रदर्शनीमा राखिने भएका छन् । दूध जन्यमा डेरीका विभिन्न परिकारहरू प्रदर्शनीमा राखिने आयोजकले जानकारी दिएको छ । लघुउद्यम तर्फ बेकरी, होसियारी, ढाका, जुत्ता, कपडा, दुना, टपरी, हस्तकला, बाँसजन्य, साबुन, आलुचिप्स लगायतका सामाग्री प्रदर्शनी राखिने उनले बताए ।
जिल्ला समन्वय समितिको मैदानमा आयोजना गरिने प्रदर्शनीमा किसानहरूलाई निःशुल्क रूपमा स्टल उपलब्ध गराइने भएको छ । प्रदर्शनीमा आउने किसान र ल्याउने सामाग्रीको यातायात भाडा तथा प्रदर्शनीमा बस्नेलाई प्रतिस्टल एक जनाको दरले खाना र आवास खर्च समेत नगरपालिकाले नै उपलब्ध गराउने भएको छ ।
प्रदर्शनीका लागि ५० वटा भन्दा बढी स्टल निर्माण भइसकेका पनि कट्टेलले बताए । प्रदर्शनीमा १२ लाख रुपैयाँ खर्च हुने अनुमान गरिएको छ ।