पार्टी संरचनालाई समाजमा फर्काउन आवश्यक छः गगन थापा
Mayorsap
बुध, पौष १७, २०८१ | २०:१२ बजे

चितवन । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले पार्टीलाई नेता केन्द्रित नभइ समुदाय केन्द्रित बनाउनुपर्नेमा जोड दिएका छन् । प्रा. डा. यज्ञप्रसाद अधिकारीको जीवन संघर्षका बारेमा लेखिएका लेखहरूको सङ्ग्रह “लोकतान्त्रिक समाजवादका भास्यकार प्राडा यज्ञप्रसाद अधिकारी” नामक पुस्तकको आज यहाँ विमोचनपछि सम्बोधन गर्दै उनले राजनीतिक दलहरू समाज केन्द्रित हुनुपर्ने समय आएको बताए ।
उनले भने “जीवनभर कांग्रेसमा काम गरेका नेताहरूको आशिर्वाद लिँदै सामाजिक क्षेत्रमा लाग्नुपर्ने समय आएको छ ।” कांग्रेसका पुराना पुस्ताको सम्मान गर्दै समाज केन्द्रित हुन सकेमा युवापुस्ताको आकर्षण बढ्ने उनले बताए । उनले थपे, “पार्टी संरचनालाई सत्तासँग जसरी जोडेका छौँ त्यसरी नै समाजमा फर्काउन आवश्यक छ ।”
कार्यक्रममा नेपाली कांग्रेसका पूर्व केन्द्रीय सदस्य गुरूराज घिमिरेले प्रा डा अधिकारीले जीवनमा देश र पार्टीका लागि पु¥याउनु भएको योगदानको चर्चा गरे । सो अवसरमा अधिकारीका भाइ प्रकाश अधिकारीले आफ्नो दाजुले लोकतान्त्रिक समाजवादका लागि प्राज्ञिक क्षेत्रबाट पु¥याएको योगदान र उनको जीवनीका बारेमा जानकारी गराए ।
प्रजातन्त्र संवर्द्धन केन्द्रका अध्यक्ष डा जगदीश पोखरेलको सभापतित्वमा सम्पन्न कार्यक्रममा नेपाली कांग्रेस चितवनका सभापति राजेश्वर खनाल, समीक्षक रामबाबु घिमिरे, डा गोपाल शिवाकोटी, भुवन थपलिया अधिकारीले पुस्तक र प्रा डा अधिकारीका बारेमा आफ्नो धारणा राखेका थिए । थपलियाले पुस्तकको संयोजन गर्नुभएको हो भने प्रा. डा. नारायणप्रसाद खनालले सम्पादन गरेका हुन् ।
पुस्तक प्रजातन्त्र सम्वर्द्धन केन्द्रले प्रकाशन गरेको हो । ६७ वटा लेख एवं कविता पुस्तकमा समावेश छन् । ती सबै प्रा. डा. अधिकारी र लोकतन्त्रसँग सम्बन्धित छन् । पाँच सय २८ पृष्ठको पुस्तकको मूल्य रू ७०५ राखिएको छ । विसं २००९ चैत २३ गते पर्वतमा जन्मिएका अधिकारीले नेपाली कांग्रेसको विदेश नीतिमा विद्यावारीधि गरेका छन् । उनका १० वटा पुस्तक प्रकाशित छन् ।