बागमती प्रदेशस्तरीय खुल्ला तेक्वान्दो लिग शुक्रबारदेखि काठमाडौँमा हुने
Mayorsap
बिही, पौष १८, २०८१ | १७:०५ बजे

काठमाडौँ । टोखा नगरपालिकाको आयोजनामा दोस्रो बागमती प्रदेशस्तरीय खुल्ला तेक्वान्दो लिग शुक्रबारदेखि हुने भएको छ ।
लिगमा पुरुषरमहिलामा समान पाँच–पाँच गरी १० तौलसमूहमा प्रतिस्पर्धा हुने टोखा नगरपालिकाका प्रमुख प्रकाश अधिकारीले जानकारी दिए । पुरुषमा ४६–५०, ५०–५४, ५४–५८, ५८–६३ र ६३–६८ किलो तौलसमूहमा खेल हुनेछ । त्यस्तै महिलामा ४०–४३, ४३–४६, ४६–४९, ४९–५३ र ५३–५७ किलोमा प्रतिस्पर्धा हुनेछ ।
करिब तीन सय खेलाडीको सहभागिता रहने एसकेबिसी तेक्वान्दो डोजाङका प्रमुख प्रशिक्षक रन्जित डगौँराले जानकारी दिए । काठमाडौँ जिल्ला समन्वय समिति र बागमती प्रदेश तेक्वान्दो सङ्घको प्राविधिक सहयोगमा आयोजना हुने प्रतियोगितामा शीर्ष तीन स्थान हासिल गर्ने खेलाडीलाई क्रमशः १०, सात र तीन अङ्क प्रदान गरिने छ ।
प्रतियोगिताका खेलहरू टोखा नगरपालिका–५ को कार्यालयमा हुनेछ । तीन/तीन महिनाको अवधिमा सञ्चालन गर्नेगरी सुरुआत गरिएको उक्त लिगको तेस्रो संस्करण आगामी फागुन र चौथो संस्करण जेठमा हुने आयोजकले जनाएको छ । पहिलो संस्करण स्युचाटारस्थित नागर्जुन कभर्डहलमा गत भदौमा आयोजना भएको थियो ।